सन् २०२० भित्र बालश्रमको अन्त्य गरिने : राज्यमन्त्री गुरुङ

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले स्विट्जरल्यान्डको जेनेभामा जारी १०३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सोमबार राति सम्बोधन गरेका छन् ।

tekbahadurसो क्रममा मन्त्री गुरुङले जबर्जस्ती श्रममा लगाउने प्रचलनको उन्मूलन, आप्रवास मजदुरको प्रतिष्ठा र सुरक्षामा नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बालश्रम अन्त्यका लागि नेपाल सरकार दृढ रहेको बताउँदै उनले सन् २०१६ सम्म बालश्रमको खराब अवस्थालाई सुधार गर्ने तथा सन् २०२० भित्र सबै किसिमका बालश्रमको अन्त्य गर्ने नेपाल सरकारले लक्ष्य लिएको जानकारी दिएका छन् ।

नेपालमा प्रत्येक वर्ष चार लाख व्यक्ति रोजगारका लागि योग्य भए पनि उपयुक्त मात्रामा रोजगारी नहुँदा बेरोजगारी प्रमुख समस्याको रुपमा चुलिँदै आएको बताएका छन् ।

नेपालबाट प्रत्येक दिन एक हजार ५०० देखि एक हजार ८०० नेपाली वैदेशिक रोजगारीका लागि विदेशिने तथ्याङ्क प्रस्तुत गर्दै विश्वमा नेपाल कामदार निर्यात गर्ने प्रमुख मुलुकको रुपमा अगाडि बढिरहेको जानकारी दिएका छन् ।

नेपालको विकासका लागि निजी क्षेत्रलाई लागानीमैत्री वातावरण बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा, प्रतिष्ठा र श्रममैत्री बनाउन सरकार क्रियाशील रहेको मन्त्री गुरुङले जानकारी दिएका हुन् ।

सम्मेलनको क्रममै मन्त्री गुरुङले मलेसियाका मानवसंशाधन मन्त्री रिचार्ड रिवत अनाक जेइमसँग भेटघाट गरेका छन् ।

भेटघाटक्रममा मलेसियमा रहेका नेपाली कामदारका विषयमा र आगामी दिनमा दुई देशका बीच हुने सहयोग आदानप्रदानका विषयमा छलफल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us