
सिन्धुपाल्चोक, २७ जेठ – संविधान र ऐनद्वारा प्रतिबन्धित राष्ट्रिय जनावर गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठोकर्पा– २ का ४७ वर्षीय यमबहादुर पहरी, २६ वर्षीय वीरबहादुर पहरी र कालिका– ४ का ६५ वर्षीय शम्शेरबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले बताएका छन् ।
अभियुक्तले आइतबार मध्यराति गाई काटेर मासु भाग लगाउँदै गरेको सुराकीका आधारमा ठोकर्पा प्रहरी चौकीले उनीहरुलाई ४० किलो मासु र दुई थान खुकुरीसहित पक्राउ गरी सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय चौतारामा ल्याएको हो ।
उनीहरु विरुद्ध प्रचलित मुलुकी ऐन अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । दोषी ठहरे ऐनअनुसार गाई काट्नेलाई १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ ।