ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २७ गते २:३७ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – भक्तपुरको मध्यपूर ठिमीमा सोमबार बेलुका भएको दुर्घटनामा एक जना प्रहरी हवलदारको मृत्यु भएको छ ।
काठमाण्डुबाट भक्तपुरतर्फ जाँदै गरेका बा ५ च ८९०२ नम्बरको टाटा मोबाइलले ठक्कर दिंदा ललितपुरको इमाडोल घर भई प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी हवलदार कुमार बुढाथोकीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बुढाथोकीको उपचारका क्रममा ललितपुर ग्वार्कोको बिएण्डबी अस्पतालमा बेलुका साढे ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौ, ललितपुर र धादिङमा भएका दुर्घटनामा पाँच जना घाइते भएका छन् । काठमाण्डु शंकरदेव क्याम्पस अगाडि मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् ।

सोमबार बेलुकी साढे ८ बजे बा ५७ प ८७९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रुहरु बानेश्वर बस्ने विष्णु कार्की र ३ वर्षकी रक्सना कार्की तथा मोटरसाइकलमा रहेका ललितपुर इमाडोलका आशिष जोशी घाइते भएका हुन् । घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको र बालिका कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै ललितपुरको चारघरेमा सोमबार राती पौने १० बजे मोटरसाइकल अनियन्त्रीत भई पल्टिंदा चालक माइला श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

सोमबार राती नै पृथ्वीराजमार्ग अन्तर्गत धादिङ थांक्रेको आठकिलोमा ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् । साढे ११ बजे भैरहवाबाट काठमाण्डुका लागि छुटेको ना ४ ख २३४१ नम्बरको ट्रकले ठक्कर दिंदा पैदलयात्री भूमेस्थान बस्ने साइला तामाङ घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us