एमाओवादीलाई नै नयाँ शक्ति बनाउने भनेको हुँ: भट्टराई

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफूले पार्टीबाहिर छुट्टै नयाँ शक्ति बनाउने नभनेको दाबी गरेका छन् ।
baburamपार्टीको नेवा: राज्य समितिअन्तर्गतका जिल्ला सदस्यहरुको भेलालाई ललितपुरको खन्ना गार्मेन्टमा सम्बोधन गर्दे उनले यही पार्टीलाई नयाँ बनाउने भनेको बताए । ‘पार्टीबाट अलग भएर नयाँ शक्ति बनाउने भनेको होइन’, भट्टराईले भने, ‘एकीकृत माओवादीलाई नै नयाँ शक्तिमा विकास गर्ने भनेको हुँ ।’

उनले कार्यदिशा स्पष्ट गरेर यही पार्टीलाई नयाँ शक्ति बनाउन र व्यापक युवाहरुलाई आकर्षित गर्ने सम्भावना अझै रहेकाले नआत्तिन कार्यकर्तालाई आग्रह गरे । पार्टीमा देखिएको समस्याका लागि आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोषी नभएको दाबी गर्दै उनले त्यसमा परिस्थिति जिम्मेवार रहेको बताए ।

अर्को एक फरक प्रसंगमा उनले आफूले पार्टीभित्र समानान्तर पार्टी बनाएको नभई छुट्टै प्रयोजनका लागि गरिएको कार्यविभाजन सञ्चार माध्यममा आएको दाबी गरे । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आठ बुँदे विधि पालना नगर्ने कोही पनि पार्टीमा बस्नु नपर्ने उल्लेख गरे । श्रेष्ठले पार्टीमा मौलाएको सुविधाभोगी प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै आफूले त्यसको सुरुआत गरिसकेको बताए ।

‘केन्द्रीय समितिको बैठकमा घरै पुरिने गरी गाडीको ताँती लाग्ने गरेको छ’। श्रेष्ठले भने, ‘सबैले गाडी छाड्नुपर्छ ।’ उनले पार्टी बिग्रनुमा तलदेखि माथिसम्म सबै जिम्मेवार रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us