कुशहा–कटैया विद्युत् लाइन पुनर्निर्माण हुने

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १२:२७ मा प्रकाशित

 विराटनगर, २६ जेठ – विगत लामो समयदेखि अवरुद्ध भारतको विहार कटैयादेखि सुनसरीको कुशहासम्मको विद्युत् लाइनको मर्मत एवं सुधार कार्य सुरु हुने भएको छ ।

कटैयादेखि कुशहासम्मको विद्युत् लाइनमध्ये ११ किलोमिटरमा गत वर्ष नयाँ तार जडान तथा मर्मतको काम पूरा भएको थियो तर भारततर्फको ३ किलोमिटरमा काम हुन बाँकी रहेको छ ।

गत वर्ष विद्युत् लाइन निर्माण कार्य हुँदा भारतीय कस्टमले निर्माणमा लाग्ने तार लगायतका सामग्रीको सम्पूर्ण कागजात मागेपछि निर्माण तथा मर्मत कार्य रोकिएको थियो ।

तर हाल निर्माण सामग्रीको कागजात भारतीय कस्टम र फारविसगन्जलाई बुझाइसकिएकाले छिट्टै स्वीकृति प्राप्त गरी निर्माण कार्य पूरा हुने विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयले जनाएको छ ।

कुशहा–कटैया विद्युत् लाइन सुधार भएपछि पूर्वाञ्चलमा विद्युत् आपूर्ति बढ्ने र विद्युत् समस्या घट्नेछ ।

विद्युत् निर्माणमा तार लगायतका सामग्री अमेरिकाबाट आयात गरेकाले भारतीय कस्टममा आवश्यक कागजात पेस गर्नुपरेको बताइएको छ ।

कुशहा–कटैयाको विद्युत् लाइन अत्यन्त जीर्ण भई विद्युत् आपूर्तिमा समस्या आएपछि निर्माण कार्य नेपालले गत वर्षदेखि सुरु गरेको थियो ।

भारतको कटैयाबाट पूर्वी नेपालमा ९० मेगावाट विद्युत् आपूर्ति हुँदे आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us