ज्यानको खतरा रहेको भन्दै नेपाल टेलिभिजनका अध्यक्षले दिए राजीनामा

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
ntvटेलिभिजनभित्र करोडौं आर्थिक घोटाला भएको र काम गर्ने वातावरण नरहेको भन्दै अग्रवालले राजीनामा दिएका हुन् । उनले शान्ति कोषको सचिवालयबाट आएको १२ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप उनको छ ।

उनी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव सूचना तथा सञ्चारमन्त्री भएका बेला टेलिभिजन अध्यक्षमा नियुक्त भएका थिए । अग्रवालले टेलिभिजनको बजेट तयारी गर्दा आफूलाई जानकारी नदिने, सञ्चालक समितिले गर्नुपर्ने निर्णय पनि महाप्रवन्धकले आफूखुसी गर्ने गरेको आरोप लगाएका छन् ।
यस्तो छ, राजीनामा पत्र
माननीयमन्त्री ज्यू, मलाई नेपाल सरकारको निर्णय बमोजिम नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्ष पदको जिम्मेवारी दिएको थियो । मेरो कार्यकालमा यथाशक्य नेपाल टेलिभिजन संस्थाको हितमा कार्य गर्ने भरमजदुर प्रयत्न गरिआएको व्यहोरा निवेदन गर्दछु । नेपाल टेलिभिजनको सञ्चालक समितिबाट गरिने निर्णयमा संस्थागतहित प्रवद्र्धधन तथा कानु र प्रक्रिया सम्मतकार्य गर्ने कतव्र्य मैले निर्वाह गर्ने अधिकतम पहल प्रयत्न गरें तर कार्यकारी भूमिकामा रहेका महाप्रबन्धकबाट स्पष्ट, पारदर्शी र जवाफदेही ढंगको भूमिकाविपरीत असहयोग र अकर्मण्यपूर्ण कार्यव्यवहारका कारण निम्न उल्लेखित गलत कार्यहरु हुने र परिणाम देखिने अवस्था उत्पन्न हुन पुगे ।
१. सञ्चालक समितिको बैठकमा निर्णयार्थ पेश भएका एजेण्डाहरुको सम्बन्धमा विस्तृत नियमसँगत विवरण उपलब्ध गराउने अथवा बैठकलाई सूचित गराई छलफल तथा निर्णय गराउने कर्तव्यविपरित केवल निर्णय गर्न दबाब मात्र दिने, सूचना जानकारीबिना रबर स्ट्याम्पको रुपमा सञ्चालक समितिलाई उपयोग गर्ने नियोजित गलतकार्य निरन्तर हुँदा आ.ब.२०७०/२०७१ को वाषिर्क बजेट पारित गर्नेकार्य समेत ७ महिना पछाडि धकेलियो र दबाबमा बुझ्न समेत नपाई पारित गर्नुपर्ने अवस्था महाप्रवन्धकबाट सिर्जना गराइयो ।
२. कर्मचारी तथा अन्य सम्वद्ध निकायमा अध्यक्षको उदाशिनताको कारण निर्णय नभएको र कार्य गर्न नसकेको भन्ने भ्रमपूर्ण प्रचार गराउनेकार्य महाप्रवन्धकबाट भयो । जबकी निर्णयार्थ प्रस्तुत प्रस्तावउपर छलफल र विषद अध्ययन गर्ने सञ्चालक समितिको अधिकारलाई कार्यकारी महाप्रबन्धकले संस्था चलाउने मैले हो भन्दै दम्भ प्रस्तुत गरेर कुण्ठित गर्ने कार्य गरियो । आगामी आर्थिक वर्षको विकास योजना सञ्चालनका निम्ती नेपाल सरकारसँग बजेट माग गर्नको लागि सञ्चालक समितिमा छलफल निर्णयसमेत गरी विधिसम्मत रुपमा पठाउनुपर्नेमा एकल रुपमा कुनै जानकारी र सहमति बेगरको आगामी वर्षको बजेट महाप्रवन्धकबाट माग गरी पठाइएको र उक्त माग के कस्तो रहेको भन्ने विषय सञ्चालक समितिलाई जानकारी छैन । गत सालको बजेटमा जलेश्वर क्षेत्रीय प्रसारणका लागि बजेट माग भएकोमा चालु आर्थिक वर्षमा मात्र बजेट प्राप्त हुने प्रवल सम्भावनाविपरीत यो वर्ष महाप्रवन्धकले एकल रुपमा माग गरेको बजेटमा सो योजना नै समावेश नगरेको समेत बुझिएको छ । नीतिगत निर्णय गराउनुपर्नेमा एकल निर्णय गर्ने र जहाँ कार्यकारी प्रमुखले गर्न सक्ने निर्णयहरु सञ्चालक समितिमा पठाएर बखेडा मच्चाउने सम्मको हर्कतहरु महाप्रवन्धकले गर्ने गरेका छन् ।
३. नेपाल सरकार शान्ति कोष सचिवालयबाट नेपाल टेलिभिजनलाई प्राप्त भएको बजेट रु १२,०१,०५,०००/ (बाह्र करोड एक लाख पाँचहजार रुपयाँ) बारे सञ्चालक समितिको जानकारी, सहमति स्वीकृति निर्णय समेत नगराई एकल रुपमा सम्झौता गरेको, रकम प्राप्त गरी सोको खर्च समेत आफ्ना हितैसी कर्मचारीहरुको मिलोमतोमा नियम प्रतिकुल र संस्थाको हित प्रतिकुल कनिका छरे जस्तो गरी रकमवितरण गरी कर्मचारीको अन्ध समर्थन प्राप्तगर्ने उदेश्यबाट प्रेरित भई अनुचितकार्य गर्ने काम महाप्रवन्धकबाट भयो । सोको अनुमोदन निर्णय गर्न मात्र मिति २०७०। १०। १९ गते सञ्चालक समितिमा प्रस्ताव ल्याए पश्चात मेरो फरक मत निर्णयमा लेखाउन बाध्य भएँ तर अहिले सो को बारेमा विस्तृत जानकारी माग्ने काम भएकोमा जानकारी दिनुको सट्टा कार्यक्रमको नाममा सुविधा लिएका कर्मचारीहरुलाई निर्णय गर्न दबाब दिन मिति २०७१।०२।०८ गतेको सञ्चालक समितिको बैठक धर्ना घेराउ गर्ने, बैठक कक्षभित्र प्रवेश गरी अभद्र शब्द प्रयोग गरी गाली गलौज गर्ने, कर्मचारीले लिए खाएको रकमको बारेमा ठीक भनेर निर्णय नगरेमा कालो मोसो दल्ने तथा जे पनि गर्ने जस्ता धाकधम्की गालीगलौज र अशिष्ट कार्य गर्ने कार्य भयो । जेष्ठ १२ गतेभित्र शान्ति कोषको रकमखर्च सम्बन्धमा निर्णय गर्नेछौं भनी कागज लेखी दबाबमा हस्ताक्षरसमेत गर्न बाध्य पारियो । यसरी कानुनविपरीत कर्मचारीलाई उक्साएर श्रम ऐन, नेपाल टेलिभिजन कर्मचारी सेवासर्त विनियम समेतको प्रतिकुल जोरजबरजस्ती गरी धाकधम्की र बेइज्जेती गर्ने कार्य गरेको र गर्ने अवस्थामा जीउ ज्यानको शान्ति सुरक्षाको प्रत्याभुती समेत पाएको र पाउने अवस्था विद्यमान देखिएन ।
४.शान्ति कोषबाट आएको रकमखर्च गर्दा टेलिभिजनका कर्मचारीहरुले आफ्नो सेवाको सीमाभित्र गर्नुपर्ने कर्तव्य बमोजिमकार्य गरेको अवस्थामा समेत अनुचिततवरले बाहिरका मानिस प्रयोग गर्दा गरिने खर्च भन्दापनि बढी खर्च तथा सूविधा कर्मचारीलाई बाँडेर एक किसिमको भ्रष्टाचारजन्य कार्य भएका छन् । (जस्तो किकार्यक्रम निर्माताको पदमा सेवा गरेका कर्मचारीलाई कायक्रम मनिर्माण गरे बापत भनी एक भागको १० हजार रुपयाँ सम्मवितरण गरेको बुझिएको छ तर विवरण उपलब्ध गराएको छैन ।
५.
नेपाल टेलिभिजनको विकास र विस्तार गर्न क्षेत्रीय प्रसारण केन्द्र कोहलपूर र ईटहरीका लागि आवश्यक बजेट चालु आ.व.मा विनियोजित गराएको तर महाप्रबन्धकले पटक पटक अवरोध उत्पन्न गरि चालु आ.व. ०७०/०७१ समेत समाप्त हुन लागेको अवस्थामा समेत केही बोलपत्रहरु मत्र गरि क्षेत्रीय प्रशारण केन्द्रको काम कारवाही अगाडी बढ्न सकेको छैन । उक्त केन्द्र तत्काल सुचारु गर्ने उदेश्यविपरित महाप्रवन्धकबाट कार्यान्वयनमा उदासिनता देखाएको अवस्था छ ।

६ नेपाल टेलिभिजन र भारतीय दुरदर्शनबिच समाचार, कार्यक्रम एवं अनुभव समेतको आदानप्रदान गर्ने सम्बन्धमा आपसी सहमति गर्न, भारतीय दुरदर्शन र भारतीय राजदुतावाशसँग मेरो व्यक्तिगत पहल प्रयत्न भएबाट कार्य उल्लेख्य मात्रामा अगाडी बढेकोमा त्यस्तो मनासिव कार्य समेत अगाडी बढाउन उदासिन तथा अवरोध उत्पन्न गर्ने कार्य महाप्रवन्धकबाट हुनगएको छ ।

७ महाप्रवन्धकबाट गरिएका अकर्मण्यता र अनियमिततापुर्ण गतिविधि र समस्याका बारेमा मैले सूचना तथा सञ्चार मन्त्रालयमा द.नं.४९४७ मिति २०७०।०९।०१ गते र २०७०।०९।२३ गते समेत स्पष्ट गरेको र पटक पटक अनुरोध गर्दा पनि उचित सुनवाई तथा कारवाही भएन । मैले अध्यक्षपदमा रहँदा नियमानुसार प्राप्तगर्ने सेवा सुविधा समेत रोक लगाउने नदिने कार्य महाप्रवन्धकबाट भएकोले मैले पाउने सेवा सुविधाको हिसावगर्न लगाई उपलब्ध गराईपाँऊ ।

८  नेपाल टेलिभिजनको हित र यसको विकासका लाग उचित र विधिसम्मत पहल प्रयत्न गर्दा गलत कार्य गर्ने पक्ष साधु र सही कार्य गर्ने पक्ष चोर देखिने देखाउने अवस्था सिर्जना गर्नमा भुमिका निर्वाह गर्ने गलततत्वहरुको उचित छानविन तथा कारवाही गरि नेपाल टेलिभिजनलाई जोगाउने कार्य तालुक निकाय र मन्त्रालयबाट होस् भन्ने निवेदन समेत गर्दछ ।

साथै टेलिभिजनमा अनुचितकार्य गर्नेहरुको बोलवाला र दवावमा कार्य गर्नुपर्ने अवस्था तथा जीउज्यान र इज्जत प्रतिष्ठामा आँच आउने अवस्था रहेको छ । यस्तो अवस्थामा कार्य गर्न सकिने अवस्था नभएको र सोका लागि कार्यकारी पदमा रहेका महाप्रवन्धकबाटै उल्लेखित कार्य भएको सन्दर्भमा कार्य गर्न असमर्थ रहेको व्यहोरा जानकारी गराउँदै सचालक समितिको अध्यक्ष पदबाट राजिनामा पेश गरेको छु । आगामी दिनमा नेपाल टेलिभिजनको सुन्दर भविष्यका लागि संस्था बुझेको, नियम कानुन र प्रक्रिया बमोजिम कार्य गर्ने सक्षम व्यक्तिहरुलाई पदस्थापन तथा प्रोत्साहन गर्ने वातावरण बनोस भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us