संसद बैठक सातौंपटक स्थगित

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– प्रतिपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसदको सोमबारको बैठक पनि स्थगित भएको छ ।
ca houseदिउँसो ३ बजे बसेको पहिलो बैठक विपक्षी दलहरुले ४ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने र रकमान्तरबारे छानबिन गर्न संसदीय समति गठन गर्नुपर्ने माग गर्दै अवरोध गरेपछि सहमतिका लागि भन्दै एक घण्टाका लागि स्थगित भएको थियो ।
तर दलहरुबीच सहमति नभएपछि दोश्रो पटक बसेको बैठक विपक्षीको अवरोधका कारण अवरुद्ध भयो । प्रतिपक्षी दलहरुका तर्फबाट बोल्दै एकीकृत माओवादी सभासद् राम कार्कीले सरकार विपक्षीको मागमा गम्भीर नभएको आरोप लगाए ।

सकारको रवैयाका कारण संविधान निर्माणको काममा समेत ढिलाइ भएको उनको भनाइ थियो । त्यसअघि बसेको पहिलो बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका–संसदको अवरोध हटाउन दल, सभासद र सरकारलाई कडा रुलिङ गरेका थिए ।

उनले लगातार बैठक अवरुद्ध हुँदा जनताका एजेण्डाले संसदमा प्रवेश नपाएको भन्दै छिटोभन्दा छिटो सहमति गरी अवरोध हटाउन सरकार र दलहरुलाई आग्रह गरे ।

प्रतिपक्षी दलका तर्फबाट बोल्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सरकारले प्रतिपक्षीका जायज मागलाई गम्भीर रुपमा नलिएको बताए ।
उनले गत ९ पुसमा दलहरुबीच भएको चार बुँदे सहमति कार्यान्वन गर्न र रकमान्तरका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us