बालविवाह र गरिबीका कारण विद्यालय छाड्ने किशोरी बढे

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ६:३३ मा प्रकाशित

उदयपुर,  २६ जेठ– जिल्लाको रौता गाविस क्षेत्रमा गरिबी र बालविवाहका कारण किशोरीले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ ।
रौता–५ र ९ का सयौं किशोरी अहिले गरिबी र बालविवाहका कारण विद्यालय अध्ययन गर्दागर्दै बीचैमा विद्यालय स्तरको पठाइ छाडेको जिल्ला महिला तथा बालविकास कार्यालय उदयपुरको हालैको एक अध्ययनले देखाएको छ ।

कक्षा ९ र १० अध्ययन गर्दागर्दै विद्यालय छाड्ने किशोरीमा अधिकांश जनजाति तथा दलित जातिका किशोरी रहेको जानकारी महिला तथा जिल्ला बालविकास अधिकृतका प्रमुख भोजकला दवाडीले बताइन् ।

विद्यालय अध्ययन गर्दागर्दै १४ तथा १५ वर्षको उमेरमा नै अभिभावकहरूले बालविवाह गरिदिने गरेको कारण पनि उनीहरूले विवाहपछि विद्यालय छाड्ने गरेको उनले बताइन् ।

कतिपय किशोरी गरिबीका कारण विद्यालय भर्ना गरेपछि घरको काम र अन्य ज्यालादारी काम गर्न परेको कारण पनि विद्यालय आउन छाडेको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।

‘विद्यालय अध्ययन गर्ने धेरै छात्राहरूले पढाइ नै पूरा गरेको पाइादैन’, रौता उच्चमाबि मुर्कुचीका प्राचार्य खड्ग थापामगरले भने, ‘यसको पछाडि गरिबी र अभिभावकमा चेतनाको अभावको कारण पनि हो ।’

यस्तै यस क्षेत्रका दलित तथा जनजातिले उमेरै नपुगी छोरीहरूलाई उमेर ढाँटेर बालविवाह गराइदिने गरेका कारण अधिकांश किशोरी बालविवाहको सिकार भएको कारण पनि विद्यालय तहको अध्ययन बीचैमा रोकिने गरेको सरोकारवाला सङ्घसंस्थाको  भनाइ छ ।

प्रत्येक वर्ष यस क्षेत्रका विद्यालय अध्ययन गर्ने किशोरीमध्ये ४५ प्रतिशतभन्दा बढी किशोरीको पढाइ बालविवाह र गरिबीको कारण नै बीचैमा रोकिने गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us