

काठमाण्डु, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयले हालै गरेको कर्मचारी नियुक्ति कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले गत जेठ १८ गतेको सचिवस्तरीय निर्णयबाट विभिन्न तहमा १३ सय ४६ कर्मचारी नियुक्ति गरेको थियो ।
अख्तियारले विनाप्रतिस्पर्धा नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक र प्राविधिक लगायत पदमा नियुक्ति गरिएको उजुरीका आधारमा छानबिन थालेको थियो । अख्तियारले हचुवाका आधारमा नियुक्ति गर्ने गरी निर्णय भएको पाइएको जनाएको छ ।
पदपूर्तिका लागि सार्वजनिक सूचना जारी गरेको नदेखिएको, खुला र प्रतिस्पर्धात्मक तवरबाट कर्मचारी भर्ना गरेको समेत नदेखिएकाले सम्बन्धित जिल्लाका स्थानीय योग्य व्यक्तिबाट प्रतिस्पर्धाका आधारमा खुला विज्ञापन गरी नियुक्ति गर्न निर्देशन दिएको छ ।