
चितवन, २६ जेठ– मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोक चुम्लिङटारमा सोमबार बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।
घाइतेमध्ये कास्की लेखनाथकी २२ वर्षीया मेनुका भण्डारी, सोही ठाउँका २६ वर्षीय प्रकाश पौडेल र ट्रकका सह–चालक नवलपरासीका २५ वर्षीय विष्णु क्षेत्रीको अवस्था गम्भीर छ ।
उनीहरु सबैको टाउकोमा गम्भीर चोट लागेको छ । पोखराबाट काठमाण्डु जाँदै गरेको ना ४ ख ६७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ४ ख १००८ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।