
नेपालगन्ज, २३ जेठ– एमाले सम्वद्ध युवासंघ नेपालका अध्यक्ष महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपालले युवा संघलाई धनवाद, डनवाद र गनवाद भनेकामा आपत्ति जनाएका छन् ।
प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले युवालाई डन भन्नेलाई नेतृत्वमा आउन नदिने घोषणा गरे । ‘युवाहरुलाई धनवाद, डनवाद र गनवादको आरोप लगाउने अनि नयाँ पुस्तामा नेतृत्व जानुपर्छ भन्ने उहाँको भनाइमै विरोधाभास छ ।’
युवा पुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै उनले उम्मेदवारका रुपमा चर्चामा आएका दुवै समूहका नेता बूढा भइसकेको टिप्पणी गरे । नेपाललाई सर्वाधिक असफल नेताको संज्ञा दिँदै बस्नेतले उनले नेतत्वमा गरेका बेला ०५४ देखि ०६४ सालसम्म एमाले इतिहासकै सर्वाधिक कमजोर अवस्थाबाट गुज्रिएको उल्लेख गरे ।
उनले पटकपटक नेतृत्वमा बस्न रहर नपाल्न नेता नेपाललाई आग्रह गरे । ‘एउटै व्यक्ति पटकपटक कार्यकारी पदमा बस्न मिल्दैन’, बस्नेतले भने, ‘विधानको व्यवस्थालाई सकैले पनि लत्याउन पाउँदैन ।’
बस्नेतले पार्टीको आसन्न वनौं महाधिवेशनबाट संसदीय दलका नेता केपी ओली सर्वसम्मत अध्यक्ष हुने दाबी गरेका छन् । बस्नेतले एमालेमा ओलीको विकल्प नरहेको बताए ।