अस्पताललाई जलविद्युत् आयोजनाको सहयोग

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ६:३८ मा प्रकाशित

नुवाकोट , २३ जेठ – जिल्लाको एकमात्र सरकारी त्रिशूली अस्पताललाई माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले विभिन्न सामग्री प्रदान गरेको छ ।

अस्पतालको आवश्यकतालाई ध्यानमा राखी आयोजनाले रु छ लाख मूल्य बराबरको ब्लड एनालाइजर र इन्भर्टर मेसिन हस्तान्तरण गरेको त्रिशूली अस्पताल उपभोक्ता सरोकार समितिका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आयोजनाले उपलब्ध गराएको उपकरणबाट अस्पतालले आउने बिरामीलाई अधिकतम सुविधा प्रदान गर्नमा ध्यान दिनुपर्ने बताए ।
जिल्ला अस्पताल त्रिशूलीमा ब्लड एनालाइजर उपलब्ध भएपछि धेरै बिरामीले एकै दिनमा सेवा पाउने र कम्प्युटरबाट रिपोर्ट आउने हुँदा त्यो अत्यन्त विश्वसनीयसमेत हुने अस्पतालका प्रमुख डा रमेशविक्रम सिंहले जानकारी दिए ।

अस्पतालका प्रमुख डा सिंहका अनुसार अब जिल्ला अस्पतालमै कलेजो र मिर्गाैलासँग सम्बन्धित परीक्षण र लिपिड प्रोफाइल परीक्षण सेवासमेत सस्तो शुल्कमा उपलब्ध हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us