शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न चीन तयार

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ६:०२ मा प्रकाशित

चीन, २३ जेठ – चीनको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ उपप्रधानमन्त्री वाङ याङवीच भेटवार्ता भएको छ ।

sushilकुनमिनको होटल गार्डेनमा शुक्रवार विहान करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल र चीनवीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग, नेपालमा हुन लागेको अठारौ सार्क शिखर सम्मेलन लगायतका सबै विषयमा कुराकानी भएको थियो ।

भेटमा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा, परराष्ट्र सचिव शंकरदास बैरागी, चिनका लागि नेपाली राजदुत महेश मास्के, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव बसन्त गौतम र बाणिज्य सचिव नारायण गोपाल मलेखुँ लगायतको सहभागिता रहेको थियो ।

भेटमा चिनियाँ उपप्रधानमन्त्री नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा सक्दो सहयोग गर्न तयार रहेको भन्दै कस्तो संविधान बनाउने भन्ने निर्णय नेपालका राजनीतिक दल र नेपाली जनताले नै निर्णय गर्नु पर्नेमा जोड दिए ।

नेपालको विकासको लागि पश्चिम सेती जलविद्युत आयोजना सहित जलविद्युतको विकासमा सहयोग र लगानी गर्न आफूहरु तयार भएको भन्दै यो सँगै सौर्य उर्जाको विकासमा समेत चिनियाँ उपप्रधानमन्त्रीले जोड दिएका थिए ।

उनले चीनले नेपालसँगको सम्बन्धलाई अत्यन्तै महत्वका साथ हेरेको भन्दै नेपालले अख्तियार गरेको एक चीन नीतिको खुलेर प्रसंसा गरेका थिए । चीनको बैदेशिक लगानी र ब्यापारको मुख्य जिम्मेवारी पाएका उपप्रधानमन्त्री वाङ चीनको पहलमा बन्न लागेको एसीयाली पूर्वाधार लगानी बैंकको स्थापना र त्यसको संस्थापक नेपाल हुनु पर्नेमा जोड दिएका थिए ।

उनले नेपालमा आयोजना हुन लागेको १८ औ सार्क शिखर सम्मेलनको सफलताको लागि आफूहरुले गर्नु पर्ने सहयोगकोलागि तयार भएको भन्दै प्रधानमन्त्रीलाई प्रस्ताव पेश गर्न आग्रह गरेका थिए । चीन सन् २००५ देखि सार्कको पर्यवेक्षक रहँदै आएको थियो ।

प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व प्राप्त गर्ने अन्तिम समयमा रहेको र यसमा नेपालका राजनीतिक दलहरुको आम सहमति रहेको भन्दै अब विकासको अभियान सुरु गर्नु पर्ने र त्यसमा चिनियाँ सहयोग आवश्यक रहेको बताएका थिए ।

उनले छोटै भए पनि चिनले आफ्नो भ्रमणमार्फत नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएकोमा धन्यबाद दिदै नेपालको आर्थिक विकासको अभियान अघि बढाउन आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले सम्बन्धलाई अझै उचाईमा पुर्याउन दुईपक्षीय उच्चस्तरीय भ्रमणलाई समेत तिब्रता दिनु पर्ने आवश्यकतामा जोड दिदै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको चीनका लागि नेपाली राजदुत महेश मास्केले जानकारी दिए ।

उनले चिनले नेपालाको आर्थिक विकासको लागि लगानीको दायरा फराकिलो पारेको उल्लेख गर्दै नेपालको विकासमा चिनको लगानी बढ्ने विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्रीलाई आजै चीनीयाँ पक्षले हाईड्रो पावर विकासको डमि प्रस्तुत गरेको छ । प्रधानमन्त्रीले आजै अपरान्ह दुई बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी आजै अपरान्ह पाँच बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us