
काठमाण्डु, २३ जेठ –सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपति रामवरण यादवले बधाई दिएका छन् ।
गरिमालाई बिहिबार राष्ट्रपति भवन शितल निवासमा डाक्दै राष्ट्रपतिले बधाई दिएका हुन् । पत्रकारको टोली सहित राष्ट्रपति निवास पुगेकी गरिमालाई यादवले भने, ‘देशको नाम राखेकोमा बधाई छ । देशको लागि सबैले आ-आफ्नो क्षेत्रमा काम गर्ने हो ।
जुन क्षेत्रबाट भएपनि देशलाई नै राम्रो हुन्छ ।’ अभिनेत्री पन्तले पनि राष्ट्रपतिको यस प्रकारको भनाईबाट खुसी हुँदै भनिन्, ‘मेरो लागि यो अवसर थूलो हो । सक्दो राम्रो गर्ने प्रयास गर्नेछु ।’
एक सय वर्ष पहिलेको सती प्रथाको विरुद्धको फिल्म ‘झोला’ मार्फत गरिमाले पहिलो पटक यस प्रकारको सफलता पाएकी हुन् ।
उनले ‘झोला’मा सती जानबाट संघर्ष गरेर भाग्ने युवतीको भूमिका निभाएकी छिन् ।
कृष्ण धारावासीको ‘झोला’ कृतिमा आधारित ‘झोला’ फिल्म व्यवसायिक रुपमा समेत सफल भएको थियो ।