
अर्घाखाँची, २३ जेठ– अर्घाखाँचीमा निजी बलेरो जिपले सडकमा हिंडिरहेका सर्वसाधारणलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
अरु चारजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा चुत्राबेसी–७ की ३५ वर्षीया शिवकला खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते खत्रीको जिल्ला अपस्तालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गोबिन्द पन्थीले जानकारी दिए ।
बा ११ च ४२०६ नम्बरको जिपले भक्तिटोलमा सडकमा हिंडिरहेका सर्वसाधारणलाई ठक्कर दिएको थियो । घटनामा खिल्जी–८ की मीना बजान्डे, चुत्राबेसी–७ का ६ वर्षीय बालक रोचक रायमाझी, खनदह–४ की २२ वर्षीया कविता चौहान र उनकी छोरी चार वर्षीया एलिसा घाइते छन् ।
घाइते सबैलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।