सार्वजनिक सूचना नदिने सरकारी अधिकारी विरुद्ध उजुरी दर्ता

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ११:२० मा प्रकाशित

पर्सा,२२ जेठ– पर्साको ३ वटा सरकारी कार्यालयका सूचना अधिकारीलाई कारबाहीको माग गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेको प्रावधान अनुसार पेश भएको निवेदन मार्फत माग गरे अनुसार सूचना नदिने ३ वटा सरकारी कार्यालयका सूचना अधिकारीलाई कारबाहीको माग गरिएको हो ।

जिल्ला पशु सेवा कार्यालय पर्सा, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र वीरगञ्ज उपमहानगरपालिका कार्यालयका सूचना अधिकारीलाई कारबाहीको माग गर्दै सम्बन्धित कार्यालय प्रमुख समक्ष उजुरी गरिएको सूचनाको हकका अभियन्ता सुरेश बिडारीले बताए ।

नियम अनुसार निवदेन पेश भएको १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने अथवा सूचना उपलब्ध गराउन नसक्नुको कारण खुलाएर जानकारी दिनुपर्ने भएपनि पटक पटक ताकेता गर्दा पनि सूचना उपलब्ध नगराएकोले बाध्य भएर उनीहरु वीरुद्ध उजुरी गर्नु परेको उनको भनाई छ ।

जिल्ला पशु सेवा कार्यालय पर्सामा बैजुलाल गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालयमा अमलेश्वर सिंह र वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा प्रेम बहादुर कार्कीलाई सूचना अधिकारीको जिम्मेवारी दिईएको सम्बन्धित कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us