लुम्विनीको पिपल वृक्ष अन्यत्र सारिने

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ९:३२ मा प्रकाशित

भैरहवा, २२ जेठ – लुम्विनीको मायादेवी मन्दिर छेउमा रहेको पिपल वृक्षलाई परिपक्क रुख रोपन (म्याचुयड ट्री प्लान्टेसन) माध्यामद्वारा अन्यत्र सारिने भएको छ ।

विश्व वातावरण दिवस, २०१४ को उपलक्ष्यमा बिहीबार लुम्विनीमा भएको कार्यक्रममा लुम्विनी विकास कोषले उक्त जानाकारी दिएको हो ।

बुटवल–भैरहवा छ लेन सडक निर्माणका क्रममा काट्नका लागि छपान लगाएका पिपल र बरका रुखलाई थाइल्यान्डका वन विशेषज्ञले काट्न नदिई लुम्बिनीमा रहेको थाइमोनाष्ट्रिको क्षेत्रमा लगेर परिपक्क रुख रोपण तरिकाबाट सारेपछि विकास कोषले पनि पिपल वृक्षलाई अन्यन्त्र सार्न लागेको विकास कोषका सदस्य सचिव अजितमान तामाङले बताए ।

विश्वका अन्य देशमा प्रयोगमा आएको यो तरिका नेपालमा विगत दुई वर्षदेखि अभ्यासमा ल्याइएको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार विगतमा बिरुवा सार्ने र रोप्ने गरिने भए पनि पुराना र ठूला रुखलाई समेत वैज्ञानिक तरिकाले सार्ने काम नेपालमा हालमात्र सुरु गरिएको हो ।

यो तरिका अपनाएर खाली जग्गालाई जङ्गलमा रुपान्तरण गरिएका भारतमा प्रशस्त उदाहरण रहेकाले नेपालमा पनि यो सम्भव भएको जिल्ला वन कार्यालयका वन विशेषज्ञ वसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

बयस्क रुख रोपण माध्यमद्वारा चोप आउने पुराना र ठूला रुख पिपल, वर, किम्मु, बडहरजस्ता रुख सार्न सकिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us