
प्रौढ अभिनेत्री मौसमी मल्ल एक समयकी चर्चित एवं सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । ०४५ सालमा फिल्म ‘भाग्य रेखा’बाट मौसमीले नेपाली रजतपटमा हिरोइनको रूपमा प्रवेश गरिन् ।
शर्मिला मल्ल, गौरी मल्ल, करिश्मा मानन्धर, कृष्टि मैनाली जस्ता हिरोइनहरुको जगजगी भएको बेला मौसमीले हिट लिस्टमा आफुलाई उभ्याउन सफल भइन् । करिब ७० वटा फिल्ममा अभिनय गरेकी मौसमी आफ्नो समयकी सफल अभिनेत्री हुन् ।
मौसमीको व्यक्तिगत जीवन भने फिल्म जीवन जस्तो सुखद रहेन । मौसमीको पहिलो बैवाहिक जीवन सम्बन्ध बिच्छेदमा परिणत भयो । व्यक्तिगत संघर्षले गर्दा मौसमीको फिल्म करियर जीवन विस्तारै छायाँमा पर्न गयो । मौसमी बिचमा फिल्म खेल्न छाडेर विदेशतिर हानिइन् ।
स्वदेश फर्किएर मौसमीले आफ्नै लगानीमा ‘गिरफ्तार’ नामक फिल्म निर्माण गरिन् । आफ्नो समेत अभिनय रहेको ‘गिरफ्तार’बाट मौसमीले लगानी उठाइन् । दुई वर्षको अन्तरालमा मौसमीले आफ्नै छोरो विक्की मल्ललाई हिरो बनाएर ‘समय’ नामक फिल्म बनाइन् । ‘समय’ले सोचे अनुरुपको व्यापार गर्न सकेन । समयबाट मौसमीले लगानीको झन्डै आधा प्रतिशत घाटा बेहोर्नु पर्यो ।
मौसमी एमाओवादी पार्टीको कार्यकर्ता पनि हुन् । उनी फूल माला लगाएरै एमाओवादी पार्टीमा प्रवेश गरेकी थिइन् । चलचित्र विकास वोर्डमा फिल्मकर्मीको नेतृत्व चाहिन्छ लगायत माग राखी फिल्मकर्मीले गरेको आन्दोलनमा सक्रिय रुपमा होमिएकी मौसमीलाई वोर्ड अध्यक्षमा आफैं लालयित भएको भन्ने समेत आरोप लाग्यो । आरोप बारे मौसमी भन्छिन्, ‘वोर्ड अध्यक्ष पदमा मेरो नाम सर्वसम्मतमा परेको थियो । तर, वोर्ड सदस्य भैसकेको म अध्यक्ष भएर के गर्ने भनेर अध्यक्ष पदप्रति ईच्छा नदेखाएको हो ।’
एमाओवादी पार्टी प्रवेश र विकास वोर्डमा भएको आन्दोलनमा फिल्मकर्मी हितकै लागि लागेका मौसमीको तर्क छ । आफ्नो पालाको जस्तो हिरोइनको चर्चा अहिले नरहेको बताउने मौसमी होटल व्यवसाय सञ्चालन गर्दैछिन् । नवलपरासीको गैंडाकोटमा जग्गा भाडामा लिएर मौसमीले होटल व्यवसाय सञ्चालनमा ल्याउदै छिन् ।
साथी सन्देशमान श्रेष्ठसँग सहकार्य रहेको मौसमीको होटल केही सातापछि औपचारिक रुपमै सञ्चालनमा आउनेछ । अहिले त्यहाँ खरले छाप्रो छाउने कार्य भैरहेको मौसमीले फिल्मीखबरलाई जानकारी दिइन् । मौसमी र सन्देशले विगत चार महिना अगाडीदेखि होटल व्यवसायको कार्य सुरु गरेका हुन् ।
सम्पूर्ण कार्य पुरा हुँदासम्म करिब ५० लाख लगानी लाग्ने मौसमीको अनुमान छ । काठमाण्डौमा पनि एक समय होटल सञ्चालनमा ल्याएकी मौसमी अब सञ्चालनमा आउने होटल व्यवसाय फस्टाउनेमा आशावादी छिन् ।सिनेमा सम्बन्धि एक अनलाइन फिल्मी खवरलाई मौसमीले होटल सञ्चालनमा ल्याएपनि फिल्म निर्माणको कार्यलाई नरोक्ने बताइन् ।
‘होटलको काम सँगै नयाँ फिल्मको स्क्रिप्ट हेर्दैछु’ गैंडाकोटमा होटलको काममा व्यस्त मौसमीले भनिन्, ‘फिल्म क्षेत्र मेरो कर्म थलो हो । यसलाई छोडेर कहाँ जाऊँ ’