एमाओवादीले कार्यविभाजनको टुंगो लगायो

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– एकीकृत नेकपा माओवादीले नेताहरुको कार्यविभाजन गरेको छ ।
maoist-flagपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाएको हो ।
यसअघि शनिबारको बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समग्र पार्टी र वरिष्ठ नेता बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धानको जिम्मेवारी दिएको छ ।
यसअघि भट्टराईले आफ्नो रुची अध्ययन/अनुसन्धानको क्षेत्रमा रहेको भन्दै छुट्टै संचरना बनाएर त्यसको नेतृत्व आफूलाई दिन माग गर्दै आएका थिए ।
यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय ब्युुरो प्रमुख र पार्टीका तर्फबाट संविधान मस्यौदा समितिको प्रमुख, अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग संयोजक र महासचिव कृष्णबहादुर महरालाई सोही विभागको सचिव प्रस्ताव गरिएको छ । उक्त विभागमा पोलिट्ब्युरो सदस्यहरु लीलामणि पोखरेल, दीनानाथ शर्मा, रामचन्द्र झा, उमिर्ला अर्याल, लेखराज भट्ट र हेमन्तप्रकाश ओलीसहित २१ जना रहने छन् ।
बैठकले सचिवत्रयमध्ये वर्षमान पुनलाई स्कुलिङ विभाग प्रमुख, टोपबहादुर रायामाझीलाई संसदीय दलको उपनेता र गिरिराजमणि पोखेरललाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । कोषाध्यक्ष हरिबोल गजुरेललाई आर्थिक विभाग प्रमुख, स्थायी समिति सदस्य शक्ति बस्नेतलाई उत्पादन, अग्निप्रसाद सापकोटालाई संसदीय विभागको सचिव र दीनानाथ शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
यस्तै बैठकले ७५ सदस्यीय केन्द्रीय सल्लाहकार समिति र ६ सय १३ सदस्यीय केन्द्रीय परिषद गठन गरेको छ । परिषदमा हालको केन्द्रीय समितिका सबै, निवर्तमान केन्द्रीय समितिमा रहेका सबै, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, ७५ वटै जिल्लाका अध्यक्ष तथा जवस/मोर्चाका प्रमुखहरु परिषदमा रहने माओवादीले जनाएको छ ।

अधिकांश राज्य समिति इन्चार्ज परिवर्तन
बैठकले अधिकांश राज्य समिति इन्चार्ज परिवर्तन गरेको छ । १४ वटै राज्यको इन्चार्जको जिम्मेवारी पोलिट्ब्युरो सदस्यहरुलाई दिइएको छ । कार्यकारी जिम्मेवारीमा नबस्ने घोषणा गरेको नेता भट्टराई पक्षका भने कोही पनि नेता राज्य समिति इन्चार्ज भएका छैनन् ।
नेवा:मा झक्कुप्रसाद सुवेदी, ताम्शालीङमा नारायण दाहाल, कोचिलामा प्रल्हाद बुढाथोकी, किरातमा सुरेशकुमार राई, लिम्बुवानमा टंक आङबुहाङ, भोजपुरामा उमिर्ला अर्याल, मिथिलामा विश्वनाथ साह, अवधमा डीलाराम आचार्य, तमुवानमा हरिराज अधिकारी, मगरातमा नन्दकिशोर पुन, सेती–महाकालीमा पर्णाकुमारी सुवेदी थारुवानमा जगप्रसाद शर्मा र भेरी कर्णाली इन्चार्जमा कालीबहादुर मल्ललाई तोकिएको छ । यस्तै बैठकले आगामी असार २५ देखि भदौ १५ गतेसम्म देशव्यापी रुपमा केन्द्रीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सबै जिल्ला र राज्यमा शीर्ष नेताको उपस्थितिमा प्रशिक्षण सञ्चालन हुने प्रवक्ता दीनानाथ शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us