
काठमाण्डु, १९ जेठ – निर्वाचन आयोगले काठमाण्डु प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेललाई अहिले तोकिएकै जिम्मेवारी दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
संचार माध्यममार्फत खरेललाई कारबाही गरिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै आयोगले खरेललाई यथास्थानमा राखी तोकिएको जिम्मेवारी पुरा गर्ने वातावरण मिलाउन निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले काठमाण्डु टुडेलाई जानकारी दिए ।
उनले खरेललाई कारबाही गर्ने सम्बन्धमा अहिले कुनै कदम नचाल्न भनिएको बताए । विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका खरेललाई गृह मन्त्रालयले काम विहीन बनाएको समाचार सार्वजनिक भएको थियो ।
सरकारले खरेललाई सोही अभिव्यक्तिका कारण प्रहरी मुख्यालयमा सरुवा गर्ने तयारी गरेपनि यस अघि पनि आयोगले रोकेको थियो । आयोगको उक्त कदमसँगै गृह मन्त्रालय पछि हटेको थियो ।
खरेलले काठमाण्डुमा केही दिनअघि भएको कार्यक्रममा केही डिआइजीहरु एआइजी बन्न शक्तिकेन्द्रमा पैसाको ब्रिफकेश बोकेर हिँडेको भन्दै खरेलले त्यस्ता डिआइजीलाई बढुवा नगर्न कार्यक्रममा उपस्थित मन्त्री महेन्द्रबहादुर पाण्डेलाई आग्रह गरेका थिए ।