भ्रष्टाचारको सञ्जाल चुडाल्न साहस र सजगता चाहिन्छ : मुख्यसचिव

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१३’ वितरण समारोहमा नेपाल सरकारका मूख्यसचिव लिलामणि पौडेलले समाज, परिवार, शक्ति र पेसासँग जोडिएको भ्रष्ट्राचारको कडा सञ्जाललाई निर्मूल गर्न एक्सन चाहिने बताएका छन् ।

chief secretaryभ्रष्ट्राचारविरुद्ध लड्न कुनै परियोजना, भावनामा लागेर हुँदैन, यो चुनौतीको बाटो भएकाले कडा साहस र सजगता हुनुपर्नेमा जोड दिए ।

‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१३’ ‘नागरिक दैनिक’का वरिष्ठ संवाददाता सुरेन्द्र पौडेललाई प्रदान गरिएको छ ।

खोजी पत्रकारिताका माध्यमबाट नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्यका लागि योगदान पु¥याएबापत पौडेललाई रु ५१ हजार र प्रशंसापत्र सहितको सम्मान प्रदान गरिएको हो । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्थापित सो पुरस्कार पाउने पौडेल पहिलो व्यक्ति हुन् ।

भ्रष्टाचारसम्बन्धी खोजमूलक समाचार लेख्ने पत्रकारलाई प्रेरित गर्ने उद्देश्यले बारबरा शान्ति प्रतिष्ठानको सहयोगमा त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागले एक वर्षअघि सो सम्मान स्थापना गरेको थियो ।

मुख्यसचिव  पौडेलले आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै भ्रष्ट्राचारविरुद्ध खासगरी खोजी पत्रकारिता गर्ने व्यक्तिलाई थप उर्जा प्रदान गर्न पुरस्कार प्रेरणादायी हुने बताउनुभयो ।

उनले भने “हरेक क्षेत्रमा पुरस्कार र अवार्डका सूची थपिँदैछन् तर यो पुरस्कार भिन्न छ, यसमा स्वार्थ कपट, छलछाम छैन, यो पुरस्कारले पत्रकारिता क्षेत्र (भ्रष्ट्राचारसम्बन्धी खोजी विषय) मा काम गर्न प्रोत्साहन गर्नेछ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धि भइरहेको तर त्यसका विषयवस्तु गुणस्तरहीन हुने गरेको सन्दर्भमा समाजमा रहेको भ्रष्ट्राचार र बेथितिलाई जरैदेखि अन्त्य गर्न र खोजी पत्रकारिताको विकासमा यस किसिमको पुरस्कार प्रेरणादायी हुने बताए ।

आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा परशुराम खरेलले पुरस्कारलाई निष्पक्ष, पारदर्शी र सान्दर्भिक बनाउन निकै मेहनत गरिएको र प्रकाशित खोजमूलक लेखमध्ये उत्कृष्ट (भ्रष्ट्राचारसम्बन्धी) लेखलाई पुरस्कार प्रदान गरिएको भन्दै यसले आगामी दिनमा अन्य जुझारु पुस्तालाई थप प्रेरणा मिल्नेमा जोड दिए ।

शान्ति प्रतिष्ठानका अध्यक्ष बारबरा एडम्सले नेपाललाई विकसित सुन्दर मुलुक बनाउन समाजमा क्यान्सरको रुप लिएको भ्रष्ट्राचारलाई जरैदेखि निर्मूल पार्न सबै लाग्नुपर्नेमा जोड दिइन् । ।

पुरस्कार छनोट समितिका सदस्य ‘काठमाडौँ पोस्ट’का प्रधान सम्पादक अखिलेश उपाध्यायले भ्रष्टाचारसम्बन्धी खोजमूलक ३७ समाचार लेखमध्ये उत्कृष्ट पौडेलको लेखलाई सम्मान गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us