अपराध नियन्त्रणका लागि विशेष अभियान सुरु

काठमाण्डु टुडे २०७१ जेठ १९ गते २:४० मा प्रकाशित

राजविराज, १९ जेठ– राजविराज नगरक्षेत्रमा हुने चोरी, लुटपाटलगायतका आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले विशेष अभियान थालेको छ ।
‘अपराधरहित समाजको सुनिश्चितता नेपाल प्रहरीको प्रतिबद्धता’ नाराका साथ जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबारबाट अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत राजविराज नगरक्षेत्रमा २४ सै घण्टा नियमित प्रहरी गस्ती गरिने प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए। प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहने गस्तीमा पाँचवटा मोटरसाइकलमा १० जना प्रहरी परिचालन गरिनेछ ।

अपराधविरुद्धको विशेष दस्ता परिचालन गर्ने प्रणालीअन्तर्गत सुरु गरिएको विशेष अभियानका क्रममा टोलीले २४ सै घण्टा नगरका विभिन्न क्षेत्रमा नियमित गस्ती गर्ने र आपराधिक कार्यमा संलग्नलाई तत्काल पक्राउ गरिने पअमात्यले बताए ।
राजविराज नगर क्षेत्रमा बढ्दै गएको चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनजस्ता आपराधिक गतिविधिविरुद्ध कडा कदम चाल्न विशेष अभियान सुरु गरेको उनले जानकारी दिए ।

सप्तरी प्रहरीले केही महिनाअघि नागरिकको घर र होटल तथा लजमा हुने अवैध यौन क्रियाकलाप नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us