
काठमाण्डु, १८ जेठ– प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले आज पनि व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
प्रमुख राजनीतिक दलबीच गत ९ पुसमा भएको चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै माओवादीले संसद बैठक अवरुद्ध गर्न लागेको हो । व्यवस्थापिका–संसद बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सरकारले आफूहरुका माग सम्बोधन गर्ने तत्परता नदेखाएकाले आजको बैठक पनि चल्न नदिने जानकारी काठमाण्डु टुडेलाई दिए । माग पूरा नभएसम्म संसद चल्न नदिने उनले बताए ।
यसअघि शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनमै एमाओवादीले निर्वाचनमा भएको धाँधली छानविन समिति र उचस्तरीय राजनीतिक समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरेको थियो ।
यस्तै माओवादीले हालै भएको नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (ईआइजी) बढुवामा चर्को आर्थिक लेनदेन भएको भन्दै त्यसबारे सरकारसँग जवाफ मागेको छ । यसैबीच सत्तारुढ नेपाली काँग्रेस र एमालेले व्यवस्थापिका–संसदको अवरोध खुलाउन एकीकृत माओवादीसँग परामर्श गर्ने भएका छन् ।
उनीहरुले संसद् बैठकअघि अवरोध खुलाउन संविधानसभा भवन नयाँबानेश्वरमा एमाओवादी शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । एमाओवादी अवरोधका कारण प्रि–बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ ।