गाउँले आफैं जुटे अस्पताल बनाउन

काठमाण्डु टुडे २०७१ जेठ १८ गते २:५५ मा प्रकाशित

सुर्खेत, १८ जेठ– पश्चिम सुर्खेतका गाउँले आफ्नै पहलमा सामुदायिक अस्पताल निर्माणमा जुटेका छन् ।

केही समयदेखि सामुदायिक अस्पताल निर्माण अभियानमा लागेका उनीहरु यही आर्थिक वर्षभित्र अस्पताल सञ्चालन गरिसक्ने लक्ष्यका साथ जुटेका हुन् । पश्चिम सुर्खेतको सालकोटमा रहेको एउटा मात्रै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी सामुदायिक अस्पताल सञ्चालन गर्ने तयारी स्थानीयवासीले गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको स्तरोन्नतिका लागि पश्चिम सुर्खेतका सबै सरोकारवालाले विशेष चासो दिएका छन् । जनस्तरबाटै अस्पताल निर्माणको अभियान सञ्चालन गरेका अगुवाले सरकारको आगामी आर्थिक वर्ष २०७१/०७२ को नीति तथा कार्यक्रममा अस्पताल निर्माणको कार्यक्रमलाई समेट्न दबाब दिने निर्णयसमेत गरेका छन् ।
अस्पताल सञ्चालनका लागि गत वर्ष महायज्ञ सञ्चालन गरी समुदायले रु तीन करोड ५३ लाख सहयोग जुटाइसकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल चिकित्सक नभए पनि एम्बुलेन्स तथा भौतिक सुविधा भने रहेको छ । समुदायले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम र भारतीय दूतावासको सहयोगमा गत कात्तिक महिनादेखि एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।

फागुनमा सम्पन्न जिल्ला परिषद्बाट पनि सालकोटमा अस्पताल निर्माणको योजना पारित भइसकेको छ । अस्पताल सञ्चालनपछि पश्चिम सुर्खेतका १२ गाविस प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने छिमेकी जिल्ला दैलेख र अछामका केही गाविसका सर्वसाधारणले पनि सेवा पाउनेछन् ।

सालकोट गाविसका गाविस सचिव तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तिलकराम अधिकारीले यसै वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी अभियानलाई तीव्ररुपमा अगाडि बढाएको बताए ।
उनले पाँच वर्षभित्र २५ शययाको अस्पताल निर्माण गर्ने योजनाका साथ आफूहरु लागि परेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us