एमाओवादीले आज कार्यविभाजनको टुंगो लगाउने

काठमाण्डु टुडे २०७१ जेठ १८ गते २:४१ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज पुन: बस्दैछ ।
maoist-flagपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउने पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङले काठमाण्डु टुडेलाई जानकारी दिए ।

यसअघि शनिबारको बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समग्र पार्टी र वरिष्ठ नेता बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

यसअघि भट्टराईले आफ्नो रुची अध्ययन/अनुसन्धानको क्षेत्रमा रहेको भन्दै छुट्टै संचरना बनाएर त्यसको नेतृत्व आफूलाई दिन माग गर्दै आएका थिए ।
यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय ब्युुरो प्रमुख र पार्टीका तर्फबाट संविधान मस्यौदा समितिको प्रमुख, अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग संयोजक र महासचिव कृष्णबहादुर महरालाई सोही विभागको सचिव प्रस्ताव गरिएको छ ।

  उक्त विभागमा पोलिट्ब्युरो सदस्यहरु लीलामणि पोखरेल, दीनानाथ शर्मा, रामचन्द्र झा, उमिर्ला अर्याल, लेखराज भट्ट र हेमन्तप्रकाश ओलीसहित २१ जना रहने छन् ।
बैठकले सचिवत्रयमध्ये वर्षमान पुनलाई स्कुलिङ विभाग प्रमुख, टोपबहादुर रायामाझीलाई संसदीय दलको उपनेता र गिरिराजमणि पोखेरललाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।

कोषाध्यक्ष हरिबोल गजुरेललाई आर्थिक विभाग प्रमुख, स्थायी समिति सदस्य शक्ति बस्नेतलाई उत्पादन र अग्निप्रसाद सापकोटालाई संसदीय विभागको सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै ६ सय १३ सदस्यीय केन्द्रीय परिषद गठनको प्रस्ताव पनि महराले गरेका छन् । परिषदमा हालको केन्द्रीय समितिका सबै, निवर्तमान केन्द्रीय समितिमा रहेका सबै, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, ७५ वटै जिल्लाका अध्यक्ष तथा जवस/मोर्चाका प्रमुखहरु परिषदमा रहने माओवादीले जनाएको छ ।

अधिकांश राज्य समिति इन्चार्ज परिवर्तन
महराले बैठकमा अधिकांश राज्य समिति इन्चार्ज परिवर्तनको प्रस्ताव पेश गरेका छन् । कार्यकारी जिम्मेवारीमा नबस्ने घोषणा गरेको नेता भट्टराई पक्षका नेतालाई भने राज्य समिति इन्चार्ज प्रस्ताव गरिएको छैन ।

सबै राज्यमा पोलिट्ब्युरो सदस्यलाई इन्चार्ज बनाउने तयारी छ । नेवा:मा झक्कुप्रसाद सुवेदी, ताम्शालीङमा विश्वभक्त दुलाल, कोचिलामा प्रल्हाद बुढाथोकी, किरातमा सुरेशकुमार राई, लिम्बुवानमा टंक आङबुहाङ, भोजपुरामा उमिर्ला अर्याल, मिथिलामा विश्वनाथ साह, अवधमा डीलाराम आचार्य, तमुवानमा हरिराज अधिकारी, मगरातमा कमला रोका र सेती–महाकालीमा पर्णाकुमारी सुवेदीलाई इन्चार्ज बनाउने प्रस्ताव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us