बामदेवले डिभाइडर नाघेको तस्वीरमा टिप्पणी गर्ने कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १७ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– प्रहरीले गृहमन्त्री बामदेव गौतमले ट्राफिक नियमविपरीत सडकको डिभाइडर नाघेको तस्वीरबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । bamdevप्रहरीले इलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई गृहमन्त्रीबारे गम्भीर प्रकृतिको टिप्पणी गरेको आरोपमा शनिबार पक्राउ गरेको हो । साह बिदामा घर आएका बेला पर्सा प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंह नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

सिंहले ‘माथि’ को आदेशमा साहलाई पक्राउ गरेर शनिबारै काठमाण्डु पठाइएको जानकारी दिए । पक्रनुको कारणबारे आफूलाई केही थाहा नभएको उनको भनाइ छ । ‘माथिबाट पक्रनु भन्ने आदेश आयो’, सिंहले भने, ‘पक्राउ गरेर काठमाण्डु पठाएका छौं, त्यसको कारण थाहा छैन ।’ साहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतमा राखिएको छ ।
गौतमले सडक नियम उल्लंघन गरेर राजधानीको सडकको डिभाइडर नाघ्दै गरेको तस्वीर नयाँ पत्रिका दैनिकले केही दिनअघि सार्वजनिक गरेको थियो । साहले फेसबुकमा राखिएको उक्त तस्वीरमा ‘गौतममलाई ‘गोली ठोकिदिनुपर्छ’ भन्ने कमेन्ट गरेका थिए । बारा पिपराडी–४ स्थायी बासिन्दा साह दुई वर्षदेखि इलाका प्रहरी कार्यालय लहानमा कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us