युवतीद्वारा प्रहरी हिरासतमै आत्महत्या प्रयास

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ७:५९ मा प्रकाशित

कञ्चनपुर, १७ जेठ– बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी एक युवतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमै आत्महत्या प्रयास गरेकी छन् ।

भीमदत्तनगरपालिका–१८ की २० वर्षीया रुक्मणी विष्टले हिरासतमै आत्महत्या प्रयास गरेकी हुन् । उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा शुक्रबार साँझ ब्ल्याङ्केटले पासो लगाई आत्महत्या प्रयास गरेकी थिइन ।

हिरासत सुरक्षामा खटिएका प्रहरीले तत्काल पासो काटेर उनको ज्यान बचाएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए । पासो काटेलगत्तै बेहोस भएकी युवतीलाई उपचारका लाथि महाकाली अञ्चल अस्पताल लगिएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको खटिमा लगिएको छ ।
महेन्द्रनगरको शुक्लाफाँटा सञ्जीवनी बोर्डिङ स्कुलकी शिक्षिका विष्टले कीर्ते दस्तखत गरी बैंकबाट २० हजार झिकेको भन्दै विद्यालय सञ्चालक नन्दा जोशीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । युवतीले बदनामी हुने डरले आत्महत्या प्रयास गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us