एमाओवादीले गर्‍यो नेताहरुको कार्यविभाजन (जिम्मेवारीसहित)

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ११:५५ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– एकीकृत माओवादीले नेताहरुको कार्याविभाजन गरेको छ ।
maoist flagपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्याविभाजनको टुंगो लगाएको हो ।
बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समग्र पार्टी, वरिष्ठ नेता बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धानको जिममेवारी दिइएको छ । यसअघि भट्टराईले आफ्नो रुची अध्ययन/अनुसन्धानको क्षेत्रमा रहेको भन्दै छुट्टै संचरना बनाएर त्यसको नेतृत्व आफूलाई दिन माग गर्दै आएका थिए ।
यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय ब्युुरो प्रमुख र पार्टीका तर्फबाट संविधान मस्यौदा समितिको प्रमुख तोकिएको छ । अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई संगठन तथा अनुगमन विभाग संयोजक र महासचिव कृष्णबहादुर महरालाई सोही विभागको सचिव बनाइएको छ । उक्त विभागमा पोलिट्ब्युरो सदस्यहरु लीलामणि पोखरेल, दीनानाथ शर्मा, रामचन्द्र झा, उमिर्ला अर्याल, लेखराज भट्ट र हेमन्तप्रकाश ओली सदस्य छन् ।
बैठकले सचिव वर्षमान पुनलाई स्कुलिङ विभाग प्रमुख, भट्टराई पक्षीय सचिव टोपबहादुर रायामाझीलाई संसदीय दलको उपनेता र अर्का सचिव गिरिराजमणि पोखेरललाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । कोषाध्यक्ष हरिबोल गजुरेललाई आथिर्क विभाग प्रमुख बनाइएको छ भने स्थायी समिति सदस्य शक्ति बस्नेतलाई उत्पादन र अग्निप्रसाद सापकोटालाई संसदीय विभागको सचिवको जिम्मेवारी दिइएको छ ।
६ सय १३ जनाको केन्द्रीय परिषद्
बैठकले ६ सय १३ जना रहने केन्द्रीय परिषद गठन गर्ने निर्णय पनि गरेको छ । परिषदमा केन्द्रीय समितिका सबै सदस्य, निवर्तमान केन्द्रीय समितिमा रहेका सबै, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, ७५ वटै जिल्लाका अध्यक्ष तथा जवस/मोर्चाका प्रमुखहरु परिषदमा रहने माओवादीले जनाएको छ ।

अधिकांश राज्य समिति इन्चार्ज परिवर्तन
महराले बैठकमा अधिकांश राज्य समिति इन्चार्ज परिवर्तनको प्रस्ताव पेश गरेका छन् । कार्यकारी जिम्मेवारीमा नबस्ने घोषणा गरेको नेता भट्टराई पक्षका नेतालाई भने राज्य समिति इन्चार्ज प्रस्ताव गरिएको छैन ।

सबै राज्यमा पोलिट्ब्युरो सदस्यलाई इन्चार्ज बनाउने तयारी छ । नेवा:मा झक्कुप्रसाद सुवेदी, ताम्शालीङमा विश्वभक्त दुलाल, कोचिलामा प्रल्हाद बुढाथोकी, किरातमा सुरेशकुमार राई, लिम्बुवानमा टंक आङबुहाङ, भोजपुरामा उमिर्ला अर्याल, मिथिलामा विश्वनाथ साह, अवधमा डीलाराम आचार्य, तमुवानमा हरिराज अधिकारी, मगरातमा कमला रोका र सेती–महाकालीमा पर्णाकुमारी सुवेदीलाई इन्चार्ज बनाउने प्रस्ताव छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले प्रस्तावलाई अन्तिम रुप दिने स्थायी समिति सदस्य नेता अग्नि सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us