१० वर्षमा धूमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर

काठमाण्डु टुडे २०७१ जेठ १७ गते २:४६ मा प्रकाशित

cigrateकाठमाण्डु, १७जेठ – विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कर वृद्धि गरौं, सूर्तीजन्य पदार्थको उपभोग कटौती गरी जीवन बचाऔं नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न संघसंस्थाको सहभागीतामा विभिन्न कार्यक्रम हुँदैछ ।
सूर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा प्रत्यक्ष धुमपानका कारण ५० लाख जना भन्दा बढी र अप्रत्यक्ष धुमपानका कारण ज्यान गुमाउने ६ लाख जना छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पछिल्लो १० वर्षमा धुमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको छ । धुमपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउने गरेका छन् । सूर्तीजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको ८० प्रतिशत हिस्सा न्यून र मध्यम आय भएका मुलूकमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनले सूर्ती जन्य पदार्थको नियन्त्रणमा गरिने खर्च भन्दा त्यसको कर बापत हुने आय औसतमा १ सय ७५ गुणा बढी रहेको बताएको छ । सूर्तीजन्य पदार्थको बढ्दो उपभोगलाई रोक्न त्यसमा लगाईने कर प्रभावकारी उपाय हुनसक्ने संगठनको ठहर छ । १० प्रतिशत कर वृद्धि भए सूर्तीजन्य पदार्थको उपभोग उच्च आय भएका देशमा ४ प्रतिशत र न्यून तथा मध्यम आय भएका देशमा ५ प्रतिशतले कमी आउने संगठनले दावी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us