चीन र म्यानमारमा भूकम्प

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १३:१८ मा प्रकाशित

चीन,१६ जेठ – दक्षिणपश्चिम चीनको युनान प्रान्तमा शुक्रबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको समाचार छ ।

तर अमेरिकी भौगर्भिक सर्वेक्षण सस्थाले भने म्यानमारको सीमा क्षेत्रमा पर्ने दक्षिण पश्चिमी चीनमा गएको सो भूकम्प ५.९ रेक्टर स्केलको भएको जनाएको छ ।

सो भूकम्पबाट २९ व्यक्ति घाइते भएका र ती मध्ये पाँचको अवस्था गम्भीर भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

सो भूकम्पबाट यिङ्गजीआङ्ग सहर अन्तर्गत दाई जिङ्गपोको डेहोङ्गमा अति प्रभावित भएको चिनियाँ भूकम्प सञ्जाल केन्द्रले जनाएको छ ।

सो भूकम्प स्थानीय समयानुसार ९ः२० बजे बिहान शुक्रबार गएको जनाइएको छ । प्रान्तीय नागरिक मामिला विभागका अनुसार सो भूकम्पबाट कचाङ्ग सहर, मेङगनोङ्ग र सुडिआन गाउँमा विद्युतीय सेवा समेत काटिएको जनाइएको छ ।

प्रान्तीय सरकारले भूकम्पपीडित व्यक्तिको लागि आवश्यक सामग्री समेत पठाएको जनाइएको छ । म्यानमारको सीमा क्षेत्रमा पर्ने यिङ्गजीआङ्गमा सहरमा तीन लाख व्यक्तिको बसोवास रहेको जनाइएको छ ।

आजको भूकम्प प्रभावित क्षेत्रमा नै एक हप्ता अगाडि गएको भूकम्पमा ५.६ रेक्टर स्केलको भूकम्प जाँदा १३ व्यक्ति घाइते भएका थिए ।

त्यसैगरी सन् २०११ को मार्च महिनामा युनान प्रान्तमा गएको ५.८ रेक्टर स्केलको भूकम्पबाट २६ व्यक्तिको मृत्यु हुनुको साथै ३०० भन्दा बढी घाइते भएका थिए ।

यसैबीच शुक्रबार नै म्यानमारमा पनि ५.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । म्यानमारको सुदुर उत्तरी राज्य माइतयिना सो भूकम्प प्रभावित भएको जनाइएको छ ।

सो भूकम्पको केन्द्रविन्दु आसपासकै इलाकामा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । तर सो भूकम्पबाट तत्काल हताहतिको समाचार भने प्राप्त नभएको जनाइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us