अमेरिकाको सर्वोच्च अदालतमा नेपाली

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १०:५१ मा प्रकाशित

काठमाण्डु– अमेरिकाको सर्वोच्च अदालतमा एक नेपालीले लामो समयदेखि बहस पैरवी गर्दै आएका छन् ।

americaनेपालका खगेन्द्र घर्ती क्षेत्री विगत २७ वर्षदेखि अमेरिकाको सर्वोच्च ‘सुप्रिम कोर्ट अफ युनाइटेड स्टेट’ मा बहस गर्दै आएका छन् । अमेरिकाको न्याय क्षेत्रमा काम गर्ने पहिलो घर्ती पहिलो नेपाली हुन् ।  ५२ वर्षीय घर्ती गुल्मी मर्भुङ गाविसका स्थायी बासिन्दा हुन् ।

उनले खास गरी काला जातिका मानिस र आप्रवाशीहरुको अधिकारका पक्षमा वकालत गर्दै आएका छन् । नेपाल ल क्याम्पसबाट २०३६ सालमा बीएलको अध्ययन पूरा गरेका उनले सन् १९८५ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका थिए । त्यसको एक वर्षपछि १९८७ मा अमेरिकी बार एसोसिएसनको सदस्यता लिएर वकालत थालेको उनले बताए ।

हाल उनी रंगभेदविरुद्ध वकालत गर्ने संस्था लिगल डिफ्रेन्ट फ्रन्टमा आवद्ध छन् । न्यूयोर्क प्रान्तको मानवअधिकार आयोगको सदस्य भएरसमेत काम गरिसकेका उनी वकालतका साथै सामाजिक संघसंस्थामा पनि क्रियाशिल छन् ।

घर्तीकै पहलमा नेपाल सरकारको डुबेको ७ लाख डलर उठ्यो
घर्ती अमेरिकामै बसेर पनि आफूले नेपाल र नेपालीको हितमा काम गरिरहेको दाबी गर्छन् ।  उनले नेपाल सरकारको डुबेको सात लाख डलर अमेरिकाको एक कम्पनीबाट फिर्ता गराएका छन् । नेपाल एइरलाइन्सले सन् १९९९ मा अमेरिकाको जेच एयरबाट जहाज खरिदका लागि अमेरिकाको एक कम्पनीसँग सम्झौता गर्‍यो । तर कम्पनी नक्कली रहेछ । सम्झौता गर्ने व्यक्ति फरार भए । घर्तीले आफ्नै अग्रसरतामा अदालतमा मुद्धा दर्ता गराए ।
नेपालले मुद्धा जित्यो र दलालबाट सबै पैसा फिर्ता भयो । ‘सानै भए पनि नेपालका लागि काम गर्न सकियोजस्तो लाग्छ’, घर्ती भन्छन्, ‘सात समुन्द्रपारिबाट पनि आफ्नो मुलुकका लागि केही गर्न सकियो, सम्झँदा खुसी लाग्छ ।’ घतीर्ले विश्वनाथ उपाध्यक्ष नेतृत्वको संविधान सुझाव आयोग–२०४७ लाई समेत महत्वपूर्ण सहयोग गरेका थिए । उनले आफूले त्यतिखेर अमेरिकाका विभिन्न भागमा बस्ने ५ भन्दा बढी नेपालीबाट संविधानमा समेट्ने विषयबारे सुझाव संकलन गरेर ल्याएको जानकारी दिए ।

एकपटकको नेपाली सधैंका लागि नेपाली
घर्ती आगामी महिना हुने एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । उनले चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् । उनका दुईवटा चुनावी नारा छन् । पहिलो विदेशमा रहेका नेपालीले दोहोरो नागरिकता पाउनुपर्ने ।

त्यसका लागि उनले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा उनको छ । ‘एकपटक नेपालको नागरिकता लिएका व्यक्ति सधैं नेपाली हुन पाउनुपर्छ’, उनले भने, ‘बरु राजनीतिक अधिकार चाहिएन ।’ यस्तै घर्तीले दोहोरो कर अन्त्यको नारा पनि अघि सारेका छन् । नेपाल र अमेरिकाबीच तत्काल द्विपक्षीय सम्झौता गराई हाल लागू रहेको दोहोरो कर प्रणाली तथा नेपाली विद्यार्थीहरुको समामाजिक सुरक्षाबापतको रकम फिर्ताका लागि आफू सक्रिय रहेको बताए ।

उनले हालै बन्द भएको न्यूयोर्कस्थित बाणिज्य दूतावास तत्काल सुचारु गर्ने र पश्चिमी सहरमा अर्को बाणिज्य दूतावस स्थापनाका लागि पहल गर्ने जानकारी दिए । हाल नेपालमा रहेका उनले  राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत, एकीकृत माओवादी नेता बाबुराम भट्टराई र माले महासचिव सिपी मैनाली लगायतलाई भेटी उक्त विषयमा ध्यानाकर्षण गराएको उल्लेख गरे ।

सबैले कानुन पालना गरे नेपाल पनि अमेरिका बन्छ
घर्तीले नेपाल पछाडि पर्नुमा कानुन पालना नगर्नु प्रमुख कारण रहेको बताए । ‘अमेरिकामा जनस्तरमै कानुन पालना गर्नुपर्छ भन्ने चेतना छ’, घर्ती भन्छन्, ‘नेपालीहरु कानुन पालना गर्दैनन्, बरु कानुन मिच्दा गर्व गर्छन् ।’ अमेरिकामा नेपालमा जस्तो कानुन बनाउने आफैंले कानुन मिच्ने प्रचलन नरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us