रमेश खरेललाई सरुवा गर्न निर्वाचन आयोगले मानेन

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १०:२३ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत भन्दै काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई काज सरुवाका लागि सहमति नदिने भएको छ ।

ramesh Kharelआयोगको शुक्रबार बसेको बैठकले खरेलको सरुवाका लागि अनुमति नदिने निर्णय गरेको हो । आगामी असार ८ गते काठमाण्डु–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ ।

यस्तो बेलामा सरकारले कर्मचारी सरुवाका लागि अनिवार्य आयोगको सहमति लिनुपर्छ । गृह मन्त्रालयले खरेलको काज सरुवाका लागि सहमति माग्दै मंगलबार निर्वाचन आयोगलाई पत्राचार गरेको थियो । आयोग प्रवक्ता वीरबहादुर राईले निर्वाचन आचारसंहिता लागू भइसकेकाले खरेलको सरुवाका लागि सहमति नदिने निर्णय भएको काठमाण्डु टुडेलाई जानकारी दिए ।

खरेललाई काठमाण्डु प्रहरी प्रमुखबाट नहटाए काठमाण्डु–२ को उपनिर्वाचन प्रभावित हुने भन्दै गृहले आयोगसमक्ष पत्र पठाएको थियो । राईले सरकारको दाबीअनुसार खरेका कारण निर्वाचन प्रभावित हुने आधार नदेखिएको पनि स्पष्ट गरे ।

राजधानीमा गत शनिबार भएको एक कार्यक्रममा खरेलले आफ्नो संगठनमा डिआईजीहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाइरहेको अभिव्यक्ति दिएपछि संगठनको मर्यादाविपरीत चलेको भन्दै गृहले खरेलको सरुवाका लागि आयोगसँग सहमति मागेको थियो ।
गृहले खरेललाई प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा राष्ट्रिय अनुसन्धान ब्युरो (सीआईबी) का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई काठमाण्डु प्रहरी प्रमुखमा पठाउने तयारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us