संघीयतालाई दलगत स्वार्थमाथि रहेर छलफल गरिने

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ८:२९ मा प्रकाशित

काठमाण्डुु, १६ जेठ – संविधानसभा संविधान लेखन अध्ययन तथा निक्र्याेल समितिको प्रतिवेदनमाथिको आजको बैठकमा उपस्थित सबै सभासदले यर्थाथतालाई मध्यनजर गर्दै छलफलबाट संघीयताको बहसलाई टुङग्याउनु पर्ने बताएका छन् ।

बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ एवम् सोसँगसम्बन्धी पूरक प्रतिवेदनमाथि एकीकृतरुपमा छलफल भएको थियो ।
सभासद् डा बाबुराम भट्टराईले राज्यको पुनःसंरचनामा सहमति नहुँदा विगतमा संविधानसभाको अकल्पनीय अवसान भएको हुँदा यसतर्फ सबै गम्भीर बन्न आवश्यक रहेको जनाएका छन् । उनले अबको संविधान विगतको आन्दोलनको भावनामा लेखिने हुँदा सङ्घीयताको निर्माण गर्दा भूगोलका आधारमा खोजिनुपर्छ भने । “पहिचानको पाँच र सामथ्र्यको चार आधारमा टेकेर सङ्घीयता पहिचान गरिनुपर्छ” डा भट्टराईले जोड दिए ।

छलफलमा भाग लिँदै सभासद् उपेन्द्र यादवले अबको राज्यको पुनःसंरचना न्यायिक रुपमा हुनुपर्नेमा जोड दिँदै राज्यको पुनःसंरचना पहिचान र सामथ्र्यको आधारमा प्रादेशिक स्वायत्तता, स्रोत र साधनको वितरण हुनुपर्छ भनेका छन् ।

सभासद् सूर्यबहादुर थापाले संविधान निर्माणको गम्भीर मोडमा आइपुगेका बेला भावावेशमा नबगी दलगत स्वार्थभन्दा माथि उठी छलफल गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीयताको सङ्ख्या थाम्न सक्नेमा सीमित हुनुपर्ने र सङ्ख्या पाँचदेखि सात मात्र हुनुपर्ने सुझाव दिए । प्रान्तीय शक्ति बाँडफाँट गर्दा आर्थिक अवस्थालाई ध्यान दिन आवश्यक रहेको थापाको भनाइ रहेको छ ।

सभासद् रामचन्द्र पौडेलले राज्यको पुनःसंरचना नक्सा बदल्नेभन्दा चरित्र बदल्ने खालको हुनपर्नेमा जोड दिँदै राज्य दिँदैमा कुनै जातिको उन्नति हुन सक्दैन भने । “सङ्घीयताको अर्थ र मर्म विपन्न जनताको आर्थिक र सामाजिक विकासको मूल प्रवाहमा ल्याउनु हो, सङ्घीयताको सवालमा भावुकताभन्दा यथार्थमा गम्भीर बन्नुप¥यो । ”

सभासद् मानबहादुर विश्वकर्माले राज्यको पुनःसंरचना गर्दा साधनस्रोत र भूगोलका आधारमा हुनुपर्छ भन्दै प्रदेशको निर्माण थेग्ने खालको मात्र हुनुपर्छ भने । संंविधानसभाको अर्को बैठक मङ्गलबार अपराह्न १ बजे बस्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us