जनआन्दोलनका घाईते र सहिद परिवारलाई संझाउदै नेताले भने– हामी सच्चा गणतन्त्रवादी हुन सकेनौ

काठमाण्डु टुडे २०७१ जेठ १५ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– जनआन्दोलनका घाईते र सहिद परिवारहरुले मुलुक गणतन्त्रमा प्रवेश गरे पनि राजनीतिक दलका नेताहरुको बुद्धि अझै नआएको आरोप लगाएका छन ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले गणतन्त्रको नाममा मुलुकमा लुटतन्त्र चलेको र नयाँ नेपाल बनाउनुको साटो नेताहरुले देश विगारेको आरोप पनि लगाए ।

साक्षात्कारमा जनआन्दोलनका घाईते मेघराज आचार्यले दलहरुले आफ्नो सत्तामा पुग्ने अभिष्ट पुरा गर्न आफूहरुसहित नेपाली जनतालाई उपयोग गरेको आरोप लगाउँदै भने–जनआन्दोलनको मुद्दा संबोधन गरेनन, केवल आफ्नो अभिष्ट पुरा गर्न तर्फमात्र लागे ।

उनले यतिलामो समयसम्म मुलुकमा गणतन्त्र संस्थागत हुन नसकेको भन्दै दलहरुले गरेको प्रतिबद्धता अनुसार एक वर्षभित्र संविधान बन्नेमा समेत आशंका ब्यक्त गरे । आचार्यले भने–जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पापाड, यूवा नेताहरु बेवास्तामा पारिए । नवगणतन्त्रबादीहरुले मोज गरे । सहिद यामलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले मुलुकमा गणतन्त्र आएको भनिएपनि गणतन्त्र संस्थागत हुन नसकेको गुनासो गर्दै राजाको ठाँउमा जनताको छोरा राष्ट्रप्रमुख हुँदा समेत जनआन्दोलनका घाईते र सहिद परिवारको भावना संसोधन हुन नसकेको गुनासो गरे ।

उनले आन्दोलनमा मुख्य योगदान रहेका यूवा नेताहरु समेत पार्टीमा पीडित भएको दावी गर्दै आफूहरु टुहुरो भएको बताए ।

घाईते ढालबहादुर बस्नेतले परिवर्तनको महसुस अहिलेसम्म गर्न नसकेको भन्दै नेताहरुले परिवर्तन र त्यसमा जनताको योगदानको अवहेलना भएको आरोप लगाए ।

नेपाली काग्रेसका सभासद गगन थापाले पार्टीहरु नै गणतन्त्रको भावना अनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै आफू रहेको नेपाली काग्रेस नै अहिलेसम्म गणतन्त्रबादी हुन नसकेको गुनासो गरे ।

उनले मुलुकमा गणतन्त्र आए पनि शासन गर्नेहरु परिवर्तन हुन नसकेको भन्दै पहिला नेताहरुलाई नै गणतन्त्रबादी बनाउनु पर्नेमा जोड दिए ।

नेकपा एमाले कि यूवा नेतृ रामकुमारी झाक्रीले शिर्ष नेताहरुले नै गणतन्त्रलाई बाध्यताले स्विकार गरे जस्तो भान हुन थालेको भन्दै नेताहरुले गणतन्त्रको स्वामित्व ग्रहण गर्नै नसकेको गुनासो गरे ।उनले गणतन्त्र राष्ट्रिय पर्वको रुपमा दिपावली गरेर मनाउनु पर्नेमा शैनिक मञ्चको कार्यक्रमबाहेक केही नहुँनु दुखद रहेको टिप्पणी गरिन ।

संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले अहिले नै हतोत्साहित वा उत्साहित हुने बेला भईनसकेको भन्दै जनआन्दोलनको सम्भावना र त्यसको भावना अनुसार भने काम गर्न नसकेको दावी गरे ।

उनले जनआन्दोलनका घाईते र सहिद परिवारको पीडा समेत बुझ्न नसकेको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us