सरकारको सहभागिता विना सगरमाथा दिवश

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, १५ जेठ–  पर्यटन व्यवसायीहरुले सरकारको सहभागिता विनानै सातौ अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाएका छन् ।

यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवश सरकारी उपस्थिति र सहभागिता विना नै मनाउनु पर्ने परिस्थिति आउनु लज्जास्पद भएको कार्यक्रमका सहभागी व्यवसायीहरु बताउँछन् ।

अघिल्ला बर्षहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मुख्य आयोजक र नेपाल पर्यटन बोर्डको व्यवस्थापन र निजी क्षेत्रको सक्रिय सहभागितामा यो कार्यक्रम मनाउँदौ आइएको थियो ।

नेपालको पर्यटन ईतिहासमानै यस्तो पहिलो घटना भएको र यसले पर्यटन मन्त्रालयको नालायकीपन उजागर गरेको व्यवसायीहरुले जानकारी दिए । ।

निजी तथा सरकारी साझेदारीको अवधारणामा स्थापित भएको नेपाल पर्यटन बोर्डको हालको बनौट र यसको कृयाकलापको बारेमा आर्थिक अनियमितता, भ्रष्टाचारको छानविन गरिनु पर्ने लगायतका अन्य मागहरु पुरा गराउनका लागि संयुक्त पर्यटन समन्वय समिति विगत ३० दिन देखि आन्दोलत रहेको छ ।

आफ्ना श्रृखलाबद्ध आन्दोलनका कार्यक्रमहरु अनुसार समितिले बोर्डको प्रांगणमा २४ घण्टे धर्ना र रिले अनसन गर्दै आएको छ ।

आन्दोलन कै कार्यक्रम अनुरुप जेटीसीसी संग सम्बद्ध सबै संघसंस्था र व्यवसायीहरुले बोर्डका अध्यक्ष समेत रहेका पर्यटन सचिवको सार्वजनिक बहिस्कार समेत गर्दै आएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा सन् १९५३ मा सगरमाथाको प्रथम पटक सफल आरोहण गर्न सफल ब्रिटिस एक्सपीडिसन्स टिममा सहयोगी मजुरका रुपमा गएका कान्छा शेर्पा रहनु भएको थियो ।

कान्छा शेर्पा, सर एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गरेको टोलीका एक मात्र जिवित व्यक्ति हुनुहुन्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक आरोहण भएको दिन सन् १९५३ मे २९ लाई सम्झना गर्र्र्दै नेपाल सरकार र निजी क्षेत्रले संयुक्त रुपमा यस अगाडि ६ पटक सम्म विविध कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us