
काठमाण्डु, १५ जेठ– सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगीरहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १ सय ५१ बमोजिम उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति यादवले सदर गरेका हुन् । मन्त्रिपरिषद्को गएराति अबेर प्रधानमन्त्री निवासमा बसेको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो ।
बुधबार राति गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष सो सिफारिस प्रस्तुत गरेको थियो । मन्त्रिपरिषद्को हिजै बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदवी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।