
काठमाण्डु, १५ जेठ– एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले वरिष्ठ नेता बाबुराम भट्टराईले पद्दती स्वीकार नगरे उनको पतनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
उनले निर्वाचनमार्फत हालै बनेको नयाँ पार्टी संरचनालाई स्वीकार गर्न नसके भट्टराई पार्टीबाट पतन हुने बताए । नेतृत्व चयनका लागि भएको निर्वाचनलाई भट्टराईले भारदारी सभा र नौटंकीको संज्ञा दिएकामा गजुरेलले आपत्ति जनाए ।
‘पार्टीभित्रको गम्भीरतालाई नबुझी केन्द्रीय समितिले गरेको निर्णयलाई नौटंकीको संज्ञा दिँदै जाने हो भने भट्टराईको पतनलाई कसैले रोक्न सक्दैन’, मैत्री नेटवर्कको कार्यक्रम साझा सम्वादमा कुरा गर्दै गजुरेलले भने, ‘उहाँको टिप्पणी फुटपरस्त कोणबाट आएको छ ।’
भट्टराई पक्षले पहिला आफंैले चुनावको कुरा गरेर आफैं चुनावबाट भाग्नुलाई आश्चार्यजनक रुपमा लिइएको उनले बताए ।
तत्काल विषेश महाधिवेशन सम्भव नभएको जानकारी दिँदै उनले भट्टराई पक्ष पनि बिराटनगर सम्मेलनले निर्धारण गरेको विधानअनुसार पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे ।