कमल थापा भन्छन्, ‘नरेन्द्र मोदी नेपालमा राजतन्त्र ल्याउने पक्षमा छन्’

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि आफूहरु उत्साहित बनेको खुलासा गरेका छन् ।
kamal thapaराजधानीमा सम्पन्न प्रथम महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएकै दिन बुधबार बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै थापाले मोदी नेपालमा सनातान हिन्दू राज्यसहतिको राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

उनले आफूसँग एक वर्षअघि दिल्लीमा भएको भेटमा मोदीले नेपालमा राजतन्त्र पुनस्र्थापना हुनुपर्ने बताएको स्मरण गरे । ‘मोदीसहित भाजपामा अधिकांश नेता नेपालमा सनातन हिन्दू राज्यसहतिको राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा छन’, थापाले भने, ‘मसँगको भेटमा मोदीजीले खुलेरै नेपालमा राजतन्त्र हुनुपर्छ भन्नुभएको थियो ।’

उनले भेटका क्रममा मोदीले आफूलाई फूलको गुच्छा दिएर स्वागत गरेको स्मरण पनि गरे ।  उनले भारतमा आउने हरेक राजनीतिक परिवर्तनले नेपालमा प्रभाव पर्ने गरेको बताए ।

पूर्ववर्ती कँग्रेस आई सरकार कम्युनिष्टहरुको समर्थनमा बनेका कारण १२ बुँदे समझदारी सम्भव भएको उनको तर्क थियो । थापाले नेपालमा सनातन हिन्दू राष्ट्रसहितको राजतन्त्र नभए संविधानसभाबाट बन्ने संविधानमा आफूहरुको स्वामित्व नरहने चेतावनी दिए ।

००७ सात सालदेखि सुरु भएको निषेधको राजनीतिका कारण मुलुकको विकास हुन नसकेको भन्दै थापाले राजसंस्थालाई कुनै न कुनै स्थान दिइनुपर्ने जिकिर गरे । ‘पार्टी स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनतालाई केन्द्रमा राख्ने हो भने राजादेखि माओवादीसम्म अटाउने व्यवस्था ल्याउन सकिन्छ’, थापाले भने, ‘चुनावखमुखी र पार्टीमुखी राजनीतिभन्दा माथिको संयन्त्र चाहिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us