
काठमाण्डु, १४ जेठ– प्रमुख सत्तासाझेदार एमालेभित्र सरकारका कामकारबाही र पार्टीका तर्फबाट सकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति तीव्र असन्तुष्टि बढेको छ ।
नवौं महाधिवेशन तयारीका लागि बुधबार मुख्यालय बसेको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताका पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै तीव्र आलोचना भएको हो ।
उनीहरुले सरकारमा सहभागी टिमले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाए । महाधिवेशन तयारीका लागि बसेको बैठकमा महाधिवेशनभन्दा सरकारका विषयमा छलफल भएको थियो ।
सदस्यहरुले आलोचना गरेपछि पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले सोचेअनुसार काम गर्न नसकिएको स्वीकार गरे । बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रस्ताव छलफलका लागि प्रस्तुत गरे । जेठ १८ गते बस्ने केन्द्रीय कमिटीको अर्को बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ ।
खनालले बैठकमा आगामी ८ असारमा हुने संविधानसभा उपनिर्वाचनमा चारवटै क्षेत्रमा पार्टीलाई जिताउने गरी कार्यक्षेत्रमा खट्न सदस्यहरुलाई निर्देशन दिएको केन्द्रीय सदस्य योगेश भट्टराईले बताए ।
।