जनचाहना बमोजिम परिवर्तन गर्न खोज्दा पद छोड्न बाध्य पारियो – प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – एकीकृत नेकपा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएपछि मुलुकका जनचाहना बमोजिम परिवर्तन गर्न खोज्दा पद छोड्नु परेको बताएका छन् ।

prachandaमुलुकमा गणतन्त्र स्थापना भएपछि आफूले ठूलो उत्साह र महत्वकाङ्क्षाका साथ अग्रगामी कार्य गर्न खोज्दा नौ महिनामै असहयोगका कारण सत्ता छोड्नु परेको बताए । उनले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैले आ–आफ्नोतर्फबाट प्रयास गर्नुपर्ने धारणा राखे ।

उच्चमाध्यमिक शिक्षा एसोसियसन नेपाल (हिस्टान)को बुधबार आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उच्चमाध्यमिक शिक्षकको सेवा सुविधामा सुधार नआएसम्म गुणस्तरीय शिक्षाको आशा गर्न नसकिने उल्लेख गरे । शिक्षाको महत्व उल्लेख गर्दै उनले भने, ‘ राजनीतिक सामाजिकीकरणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता छ ।’

कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले उच्च माध्यमिक तहलाई राज्यले प्राथमिकतामा राखेर शिक्षक र विद्यार्थीको सेवा सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च माध्यमिक तहका विद्यार्थी र शिक्षकमा राज्यको न्यून लगानी भएकाले समस्या देखिएको बताए ।
भेलामा नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले आफू शिक्षामन्त्री हँुदा उच्च माध्यमिक तहका शिक्षकका लागि दरबन्दीको व्यवस्था गरेको जानकारी गराउदै हालको शिक्षा ऐनमा सुधारको खाँचो रहेको आँैल्याए ।

कार्यक्रममा एमालेका युवा नेता रवीन्द्र अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा यज्ञबहादुर कार्की, हिस्टानका अध्यक्ष दीपकराज सुवेदी, अविभावक सङ्घका उपाध्यक्ष केशव पुरी, शिक्षा मन्त्रालयका उपसचिव बोधराज निरौलालगायतले उच्च माध्यमिक तहका शिक्षकको समस्याका बारेमा चर्चा गर्दै समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us