महिलालाई ब्ल्याकमेलिङ गर्ने बैंकका प्रबन्धक निलम्बित

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ६:२४ मा प्रकाशित

राजविराज, १४ जेठ – महिलाको गोप्य तस्बिरहरु फेसबुक र इमेलमा राखेर ब्ल्याकमेलिङ गर्ने नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दास निलम्बनमा परेका छन् ।

विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका राजविराज नपा–५ का ३१ वर्षीय प्रबन्धक दास निलम्बनमा परेको बैंकको मानवस्रोत व्यवस्थापन विभागले जानकारी दिएको छ ।

दासमाथि फौजदारी मुद्दा दर्ता भई अनुसन्धान भइरहेकाले नेपाल बैंक लिमिटेड कर्मचारी सेवा नियमावली बमोजिम निलम्बन गरिएको बैंकले जनाएको छ ।

पीडितका भाइले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँले विद्युतीय कारोबार ऐनअन्तर्गत अपराध गरेको आरोपमा दासलाई एक साताअघि पक्राउ गरेको थियो ।

दासले प्रयोग गर्ने कम्प्युटरको सिपियुसमेत बरामद गरी महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक किरण गुरुङले जानकारी दिए ।

अविवाहित रहेको भन्दै झुक्याएर प्रेमको नाटक गरी पीडितको गोप्य तस्बिरहरु खिचेका प्रबन्धक दासले ती तस्बिरमार्फत पीडितसँग ब्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ । आरोपित एक छोरीका बुबा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us