रमेश खरेलको सरुवाका लागि अनुमति दिने/नदिनेबारे निर्वाचन आयोगका पदाधिकारीबीच विवाद

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १४ जेठ–  काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई सरुवाका लागि अनुमति दिने कि नदिने भन्नेमा निर्वाचन आयोगका पदाधिकारीबीच तीव्र मतभेद भएको छ ।

ramesh Kharel
गृह मन्त्रालयले खरेललाई प्रहरी मुख्यालयमा काज सरुवाका लागि अनुमति माग गर्दै लिखित पत्र पठाएपछि त्यसबारे आयोग पदाधिकारीबीच विवाद भएको हो । विवादकै कारण त्यस सम्बन्धमा छलफल गर्न बुधबार बस्नुपर्ने आयोगको बैठक बस्न सकेन ।

बिहीबार पनि सार्वजनिक बिदा परेका कारण बैठक बस्ने छैन । आयोगको निर्णयमा ढिलाइ हुँदा खरेलको सरुवा अन्योलमा परेको छ । श्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु अयोधीप्रसाद यादव र इला शर्मा खरेलको सरुवाका लागि अनुमति दिन नहुने पक्षमा छन् ।

गृहले कमजोर आधार देखाएर सरुवाका लागि पत्राचार गरेको उनीहरुको भनाइ छ । गृहसचिवले मंगलबार खरेलको सरुवाका लागि अनुमति माग गरेर पठाएको पत्रमा उनलाई सरुवा नगरे काठमाण्डु क्षेत्र नम्बर–२ को उपनिर्वाचन प्रभावित हुने जिकिर गरिएको निर्वाचन आयोगका एक अधिकारीले बताए ।

उनका अुनसार पत्रमा के कति कारणले खरेलले उपनिर्वाचन प्रभावित गर्न सक्छन् भन्ने स्पष्ट खुलाइएको छैन ।

राजधानीमा भएको एक सार्वजनिक कार्यक्रममा प्रहरीका उपल्ला अधिकारीहरुमाथि भ्रष्टाचारीको आरोप लगाएपछि खरेललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले मुख्यालय सरुवा गर्ने निर्णय गरेको हो ।

राजधानीमा शनिबार भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे प्रमुख अतिथि रहेको पुरस्कार वितरण समारोहमा खरेलले प्रहरीका डिआईजीपीहरु एआईजीपीमा बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएका थिए ।
अगामी असार ८ गते काठमाण्डु–२ मा हुने संविधानसभा उपनिर्वाचनको आचारसंहिताका कारण सरुवाका लागि सरकारले निर्वाचन आयोगको सहमति लिनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us