एमाओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १४:०० मा प्रकाशित

काठमाण्डु, १४ जेठ– एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठक आगामी जेठ १७ गतेसम्मका लागि स्थगित भएको छ ।
maoist-flag गृहकार्यका लागि भन्दै १७ गते बिहान ११ बजेसम्म लागि बैठक स्थगित गरिएको हो ।
पार्टीले गठन गर्ने केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय परिषद्लगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएको प्रवक्ता दिनानाथ शर्माले बताए ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता बाबुराम भट्टराई पक्षले राखेको फरक मतलाई समेटेर लैजाने प्रतिबद्धता जनाएका थिए ।
उनले पार्टी मोर्चा नभई, पार्टीकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा असन्तुष्ट नेता बाबुराम भट्टराई पक्ष पनि सहभागी भएको थियो । बैठकमा भट्टराईले आफू वरिष्ठ नेतामा नबस्ने भन्दै निर्वाचनबाट आएका आफू पक्षधर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोका कुनै पनि सदस्यले उक्त पद स्वीकार नगर्ने बताए ।

आकांक्षी धेरै भएपछि एमाओवादीले निर्वाचनमार्फत पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन गरेको थियो । निर्वाचन बहिस्कार गरेको भट्टराई पक्षका केही नेता सबै तहमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us