गणतन्त्र दिवसमा स्वागत समारोह

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १५:०० मा प्रकाशित

काठमाण्डु, १३ जेठ– सातौं गणतन्त्र दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित स्थायी नेपाली नियोगद्वारा एक स्वागत समारोह आयोजना गरियो ।
कार्यबाहक राजदूत भृगु ढुङ्गानाको आयोजनामा भएको उक्त समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित विभिन्न मुलुकका राजदूत/स्थायी प्रतिनिधि, नि:शस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय निकाय, विश्व व्यापार सङ्गठन, राष्ट्रसङ्घका विशिष्टिकृत नियोगका प्रमुख, संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका उच्च अधिकारी, स्विटजरल्यान्ड सरकारका वरिष्ठ अधिकृत, जेनेभामा कार्यरत नेपाली, नेपाली समुदायका प्रतिनिधि एवम् तिनका परिवारजनको सहभागिता थियो ।

त्यस अवसरमा कार्यबाहक राजदूत ढुङ्गानाले लोकतन्त्र दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्दै आगामी एकवर्षभित्र संविधान बनाउन उच्च प्राथमिकताका साथ संविधानसभा क्रियाशील रहेको जानकारी दिए ।

उनले नयाँ संविधानले नेपाललाई राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक प्रगतिको दिशामा अग्रसर गराउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us