
काठमाण्डु, १३ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित छ पदाधिकारीलाई मंगलबार पक्राउ गरेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार डा. निरोज पाण्डे र परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि सङ्कायका डीन शुभनारायण पाठक, व्यवस्थापन सङ्कायका डीन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि सङ्कायका सहकायक डीन राजेशकुमार झालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका मध्ये श्रेष्ठ, पाण्डे र बस्नेत यसअघि नै निलम्बनमा परिसकेका थिए । उनीहरुमाथि शैक्षिक सत्र २०७०/७१ मा आवेदन शुल्क, सम्बन्धन प्रदान तथा कार्यक्रम थप बापत उठाउनुपर्ने चार करोड २८ लाख ७० हजार नउठाई विश्वविद्यालयलाई हानी पुर्याएको आरोप लगाइएको छ ।
भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका कला, शिक्षा तथा कानुन सङ्कायका डीन शम्भुप्रसाद कोइराला भने फरार रहेको प्रवक्ता सापकोटाले बताए ।