
काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफूलाई दिइएको वरिष्ठ नेताको जिम्मेवारीसहित हालै नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम स्वीकार नगर्ने बताएका छन् ।
मंगलबार राति बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै भट्टराईले आफूसहित आफ्नो पक्षका कोही पनि नेता उक्त जिम्मेवारी स्वीकार्ने पक्षमा नरहेको बताएका हुन् ।
उनले पूर्वघोषणाअनुसार केन्द्रीय समितिमै बसेर पार्टी रुपान्तरणका लागि आफूहरुको विचार प्रवाह गर्ने उल्लेख गरे । भट्टराईले निर्वाचनका नाममा संसारमा कहीं नभएको हास्यास्पद अभ्यास आफ्नो पार्टीमा देखिएको बताए ।
‘आफैं उपस्थित नभएको निर्वाचनमा निर्वाचित हुने निर्वाचन दुनियाँमा कहीं पनि नभएको हाँस्यास्पद कुरा भयो’, भट्टराईले भने, ‘यस्तो परिणाम स्वीकार गर्ने भन्ने प्रश्नै आउँदैन ।’ उनले आफूहरुले बदलिएको परिस्थतिअनुसार जनतामा आधारित नयाँ ढंगको पार्टी बनाउन बहस थालेको भए पनि एक पक्ष टालटुले तरिकाले अघि बढ्न खोजेकाले समस्या थपिएको बताए ।
भट्टराईले गाउँदेखि जिल्ला हुँदै केन्द्रसम्मको निर्वाचन विधिसम्मत नभएको र आफूहरुलाई पेलिएकाले बहिस्कार गरिएको उनको भनाइ छ । उनले पार्टीमा आफूहरुले पदको सर्त नराखेको भन्दै विचारलाई निर्वाधरुपमा प्रवाहित गर्न दिइनुपर्ने माग गरे ।
भट्टराईलाई मंगलबार बसेको एमाओवादी केन्द्रीय समिति बैठकले वरिष्ठ नेताको हैसियतमा पदाधिकारीमा राख्ने निर्णय गरेको थियो । हालै भएको निर्वाचनमा भट्टराई पक्षका पोलिट्ब्युरोमा ७, स्थायी समितिमा ३ र पदाधिकारीमा एक जना निर्वाचित भएका छन् ।