
काठमाण्डु, १३ जेठ – स्वास्थ्य व्यवसायी संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पदाधिकारीहरुको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी दिएका छन् ।
समितिले महासंघमा आवद्ध सदस्य संस्थाहरुमाथि चरम शोषण गरेको, विदेशीएजेन्ट, दलालसँग मिलेर करोडौंको आर्थिक हिनामिना गरेको, सिन्डिकेट प्रथा लागू गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द नभए अदालत जाने चेतावनी दिएको हो ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले वर्तमान कार्यसमितिले निर्वाचनपूर्व गरिएको प्रतिवद्धता पूरा नगरेको सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क लागू गर्न नसकेको, गाम्का नेपालको सदस्य बन्न गरिएको व्यवसायीहरुको करोडौं रुपैया फिर्ता नगरेको, कैलाश खड्काको घाटामा रहेको वेलकेयर अस्पताल ४ करोड ७५ लाखमा किनेर महासंघलाई धरासायी बनाउन खोजेको भन्दै ७ सूत्रीय संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिले जेठ १८ गतेबाट महासंघमा तालाबन्दी र व्यवसायी भेला गर्ने, विशेष साधारणसभाको जानकारी दिने, निर्वाचन कार्यतालिकाको घोषणा गर्ने, पुराना कार्यसमितिका भ्रष्ट पदाधिकारीहरुमाथि छानविन गरी कारवाहीको प्रकृया अगाडि बढाउने जस्ता ७ सूत्रीय संघषको कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक सूलोचना श्रेष्ठले महासंघका सीमित पदाधिकारीहरुको सिण्डकेट र कमिशन विरुद्ध योजनावद्ध तरिकाले व्यवसायिक आन्दोलन गर्ने चेतावनी दिईन ।
व्यवसायी मुकुन्द भट्टराईले व्यवसायीहरुको मौलिक हक हनन हुने गरी विधान संसोधन गरी धोका दिएको आरोप लगाउँदै सरकारले मलेसियाको विवादीत वायोमेट्रिक सप्mटवेयर कम्पनी (वायोमेटिक सिस्टम) लाई नेपाल सरकारले अस्वीकार गर्दा पनि करोडौंको खेलमा लागू गर्न खोजेको गुनासो गर्दै तत्काल बन्द गर्नुपर्ने बताए ।