आज कृष्ण सेन स्मृति दिवस

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ५:१२ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
krishna senदिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा प्रभातफेरि आयोजना गरियो । प्रभातफेरिमा पत्रकार र साहित्यकारहरुको उपस्थिति थियो ।
शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरि बागबजार, पुतलीसडक, पद्योदय मोड हुँदै भृकुटीमण्डमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई एकीकृत माओवादीका स्थायी समिति सदस्य अग्नि सापकोटा, नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसाल, सोही पार्टीका केन्द्रीय सदस्य महेश्वर दाहाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आयार्च, क्रान्तिकारी महासंघका अध्यक्ष कुमार साह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, अखिल नेपाल जनसांस्कृतिक महासंघ अध्यक्ष इश्वरचन्द्र ज्ञवाली र सेन पत्नी तक्मा केसीले सेनाको व्यक्तित्व र कृतित्वका बारेमा बोलेका थिए ।

कार्यक्रमका वक्ताले कलम चलाएकै भरमा सेनको हत्या गरिएको भन्दै हत्यामा संलग्नमाथि कारबाहीको माग गरे । उनीहरुले सेन हत्याका दोषीमाथि कारबाहीको साटो पुरस्कृत गरिएको भन्दै आपत्ति जनाए ।

जनदिशा दैनिकका प्रधान सम्पादक सेनको २०५९ साल जेठ १३ गते आजैका दिन तत्कालीन महेन्द्र पुलिस क्लबको हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us