
काठमाण्डु, १३ जेठ – संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट पारित भएको हतियार व्यापार सन्धिलाई नेपालले संसदबाट अनुमोदनका लागि पहल सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शान्ति र संविधानका लागि महिला नामक सङ्स्थाद्वाराल आयोजित ‘हतियार व्यापार सन्धि’सम्बन्धी छलफल कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले सन्धि अनुमोदनका लागि संसदमा आफूले ध्यानाकर्षण प्रस्ताव राखिसकेको जानकारी दिँदै जेठ १६ गतेदेखि बस्ने संसद्को बैठकका सोसम्बन्धी विषयमा छलफल हुने विश्वास गरे ।
उनले हतियारको भण्डारण, ओसारपसार मानवसमाजलाई आक्रान्त पार्ने कार्य भएकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले ल्याइएको सन्धिलाई पारित गर्नुको विकल्प नभएकामा जोड दिए ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालले सन्धिको प्रस्तावमा हस्ताक्षर गरिसकेकाले संसदमा सोसम्बन्धी प्रस्ताव लैजान ढिलाइ गर्न नहुने धारणा राखे ।
नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले सन्धिका कारण नेपाललाई आवश्यक पर्दा हतियार खरिदमा कुनै समस्या नपर्ने हुँदा सन्धि अनुमोदन गर्नुपर्ने भनाइ थियो ।
शान्ति र संविधानका लागि महिलाकी अध्यक्ष शोभा प्रधान श्रेष्ठले विश्वमा दैनिक दुई अर्बभन्दा बढी हतियार प्रयोगका लागि खर्च हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सो खर्चको पाँच प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रमा खर्च गरे सबै जनताले प्राथमिक स्वास्थ्य सेवा पाउने विवरण प्रस्तुत गरिन् ।
विसं २०६९ चैतमा संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपाल लगायत १५६ मुलुकले हतियार व्यापार सन्धिको पक्षमा मतदान गरेकामा हालसम्म ३२ राष्ट्रले मात्रै अनुमोदन गरेका छन् ।