
काठमाण्डु, १२ जेठ– नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत १ सय १४ जना पत्रकार र कर्मचारीको नियुक्ति नवीकरण नगरिएको भन्दै आपत्ति जनाएको छ ।
महासंघले नवीकरण रोक्का गरेर रासस व्यवस्थापनले पत्रकार र कर्मचारीलाई मानसिक तनाव दिएको भन्दै आपत्ति जनाएको छ । महासंघको सोमबार बसेको सचिवालय बैठकपछि महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा सरकारी सञ्चार माध्यमले नै श्रमजीवी पत्रकार ऐनको उल्लंघन गर्नु आपत्ति जनक भएको उल्लेख छ ।
श्रमजीवी पत्रकारहरुको श्रमको सम्मान गर्नुको सट्टा नियुक्ति पत्रमा म्याद थप नगरी उनीहरुको नैसर्गिक अधिकार हनन हुने खालको क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।
‘राष्ट्रिय समाचार समिति (रासस) मा व्यवस्थापनले त्यहाँ कार्यरत ११४ जना श्रमजीवी पत्रकार तथा कर्मचारीको नवीकरण बिनाकारण रोक्का गरी मानसिक तनाव दिएकोप्रति गम्भीर ध्यनाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ’, ‘रासस लगायत सबै सरकारी स्वामित्वका सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐन तत्काल लागू गर्न महासंघ माग गर्दछ, श्रमजीवी पत्रकारहरुको विरुद्ध हुने कुनै पनि निर्णयको विपक्षमा महासंघ उभिने छ ।’